अब साउदी अरबमा कार्यरत नेपाली श्रमिकले त्यहाँको कानुनले आप्रवासी कामदारलाई दिएको सुविधा प्राप्त गर्ने भएका छन् । श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने गरी आइतबार रियादमा दुवै देशबिच भएको श्रम सम्झौताले पीडित कामदारलाई त्यहाँको कानुनअनुसार उपचार पाउने बाटो खोलेको हो ।
श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेको नेपाली दूतावास, रियादले जनाएको छ । सम्झौता भएसँगै नेपाली कामदारलाई सामाजिक सुरक्षा, दैनिक काम गर्ने अवधि, न्यूनतम तलब सुविधा, कामदारमैत्री वातावरण, साप्ताहिक तथा वार्षिक बिदा, बिरामी बिदा, जटिल रोगको उपचार, क्षतिपूर्तिलगायतको पनि सुनिश्चित भएको छ ।
द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रममन्त्रीबिच द्विपक्षीय बैठक भएको थियो । मन्त्री भण्डारीले श्रम सम्झौताले नेपाल–साउदी अरबबिच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ । सम्झौता नेपाली साधारण श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत प्रभावकारी बनाउन महत्वपूर्ण दस्ताबेज हुनेमा विश्वस्त रहेको भन्दै मन्त्री भण्डारीले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हकहितको रक्षा र रोजगारको सुरक्षा भएको उल्लेख गरेका छन् ।
१२ वर्षको प्रयासपछि सम्झौता
साउदीसँग श्रम सम्झौताका लागि नेपालले ०७० देखि नै पहल गर्दै आएको थियो । साउदीले घरेलु कामदार लैजाने प्रावधान राख्न जोड गरेका कारण सम्झौता हुन सकेको थिएन । नेपालले भने साउदीसहितका खाडी मुलुकमा ०७२ देखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाइसकेको छ । यही कारण श्रम सम्झौताका लागि साउदीले आलटाल गर्दै आए पनि पछिल्लो समय ठुलो संख्यामा नेपाली जान थालेपछि बाध्य भएको हो ।
श्रम शोषणका घटना धेरै हुनेमा साउदी सबैभन्दा धेरै अगाडि रहेकाले पनि नेपालले श्रम सम्झौतामा जोड दिँदै आएको थियो । सन् २०२१ मा काफला प्रणाली अन्त्य हुनुअघि नेपालीसहित आप्रवासी कामदारको असुरक्षा र चर्को श्रम शोषण थियो । रोजगारदाताले राहदानी राखिदिने, अर्को कम्पनी परिवर्तन गर्न नपाइने, न्यून तलबमा १८ घण्टासम्म काम गर्नुपर्नेलगायतका प्रावधानका कारण साउदीमा आप्रवासी कामदार पीडित थिए । काफला प्रणाली अन्त्य भएपछि दुई वर्षको करार अवधि सकिएपछि घर फर्कन पाउने र कम्पनी परिवर्तन गर्न पाउने सुविधा छ ।
साउदी पहिलो रोजाइको श्रम गन्तव्य
पछिल्लो तीन महिनाको तथ्यांकअनुसार नेपालबाट सबैभन्दा बढी साउदी अरबमा श्रम स्वीकृति लिएर युवा रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा १५ हजार सात सय ६९, मंसिरमा १४ हजार तीन सय ३९ र पुसमा १३ हजार तीन सय २७ श्रमिक साउदी पुगेका छन् । हाल साउदी अरबमा करिब पाँच लाख नेपाली कामदार रहेको अनुमान छ ।
श्रम सम्झौता भएका मुलुक १३ पुगे
साउदी अरेबियासहित श्रम सम्झौता हुने मुलुकको संख्या १३ पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस, युएई, इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग यसअघि नै श्रम सम्झौता भइसकेको छ । यीमध्ये कोरिया र इजरायल सरकारीस्तरबाट युवा पठाइने गरिएको छ । सरकारले ओमानसँग पनि श्रम सम्झौता गर्न स्वीकृति दिइसकेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए ।