साउदीसँग श्रम सम्झौता गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

2 September, 2025

नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ।

साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौता पत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको मन्त्रालयले जनाएको छ।

सन् २०१० देखि नै श्रम सम्झौताको प्रयास गरे पनि यसअघि साउदीले सम्झौता गर्न मानेको थिएन। पछिल्लो समय घरेलु कामदार समेत लैजाने गरी सम्झौता गर्न दबाब दिँदै आएको थियो। तर संसदको श्रम समितिले घरेलु कामदार खुला गर्न छुट्टै सम्झौता हुनुपर्नेमा जोड दिँदै आएको छ। यसबारे छुट्टै सम्झौता गर्न साउदी तयार छैन।

सन् २०३४ मा हुने फिफा विश्‍वकप आयोजनाको तयारीका लागि थुप्रै आप्रवासी श्रमिकहरू आवश्यक परेको र श्रमिकहरूको हकअधिकार हनन भएको विषयमा प्रश्न उठिरहेका कारण अहिले साउदी सम्झौता गर्न तयार भएको हो।

सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र श्रमिकहरूको लागत रोजगारदाताले बेहोर्ने सुविधा प्राप्त गर्ने श्रम मन्त्री शरतसिंह भण्डारीले बताए।

‘आगामी सबै श्रम सम्झौता पत्रमा नेपाली श्रमिकको आवश्यकता र प्राथमिकता तथा मानव अधिकारलाई केन्द्रमा राखिनेछ,’ मन्त्री भण्डारीको दाबी छ।

श्रम–सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भीर रूपमा विश्लेषण गरिरहेको बताए।

‘श्रमिक पठाउने मुलुकमा श्रम शोषण र मानव अधिकार उल्लंघनका विषयमा नेपाल सरकारले निगरानी गरिरहेको छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024