साउदीमा सुतेकै अवस्थामा मृत्यु

15 April, 2016

महेश श्रेष्ठ

 

साउदी अरब- घर बिदामा जाने तयारीमा रहेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। सुनसरी, प्रकाशपुरका ३४ वर्षीय विष्णुदेव चौधरीको सुतेकै अवस्थामा यही वैशाख १ गते राति मृत्यु भएको हो। जुबैलस्थित रेड सि हाउजिङ सर्भिसेज कम्पनीमा कार्यरत चौधरीको मृत्यु हृदयघातबाट भएको अनुमान गरिएको छ। उनको मृत शरीरलाई पोस्टमार्टमका लागि यहाँको सरकारी अस्पतालमा राखिएको छ।

 

रात्रिभोजन पश्चात सामान्य रुपमै सुतेका चौधरी अचानक राति सवा २ बजे छटपटाएका थिए र उनका साथीहरुले उपचारका लागि तत्कालै नजिकको खोनैनी अस्पताल पुर्याकउँदा डाक्टरहरुले उनको मृत्युको घोषणा गरेका थिए। ३४ वर्षीय चौधरी सिकर्मीका रुपमा कार्यरत थिए। नियमित शारीरीक व्यायाम गर्ने उनी मिलनसार र कम बोल्ने गर्थे। मृतक चौधरीको परिवारमा झन्डै एक महिनाअघि फुपू र १५ दिनअघि भाउजूको मृत्यु भएकाले उनी पारिवारिक शोकमा थिए। त्यसैगरी, केही दिनअघि मात्रै उनको १० वर्षे छोरालाई सर्पले डसेर मृत्युको मुखमा पुर्यााएको थियो।

 

वृद्ध आमा र नाबालक छोराछोरीका अभिभावक चौधरीको मृत्युको खबरले उनकी श्रीमती बेहोस छिन्। भतिज रमेश चौधरीका अनुसार उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ।

 

चार वर्षदेखि साउदी अरबमा कार्यरत चौधरी दुई सातापछि मे १ मा घरबिदामा नेपाल जाने तयारीमा थिए। कम्पनीले दिएको जानकारी अनुसार आवश्यक कानुनी कारबाहीपश्चात यथाशिघ्र उनको मृत शरीर नेपाल पठाउने व्यवस्था गरिनेछ।

 

साउदी अरबबाट मृतकको शरीर पठाउन सरकारी अस्पतालको पोस्टमार्टम, प्रहरीको लासजाँच रिपोर्ट, मृत्यु प्रमाणपत्र, सम्झौताअनुसार तीनमहिनाको तलबभत्ताको लिखित हिसाब, लेबर अफिसको पत्र, कम्पनीले नेपाली राजदूतावास र मृतकको नाममा लेखिएको चेक, बिमाको रकमसम्बन्धी र मृतकको शरीर पठाउन बुक गरिएको हवाई टिकट प्राप्त भएपछि नेपाली दूतावासले अनआपत्तिपत्र (एनओसी) प्रदान गरेपछि मात्रै सम्भव हुन्छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024