साउदीमा तलब पाएनन् नेपालीले

28 February, 2016

 

– होम कार्की 

  प्रमुख दोस्रो सहर दमामस्थित साद सहमी अल हजारी कम्पनीले गएको अक्टोबरदेखि ३ सयजना नेपालीको तलब भुक्तानी गर्न सकेको छैन ।

 

दमाममै रहेको मोहम्मद अलमोजिल कम्पनीका ५० कामदार स्वदेश फिर्न सकेका छैनन् । अल सत्रायन कन्ट्रयाक्टिङमा कार्यरत २१ नेपालीले जुलाईयता एक रियाल पनि हात पारेको छैनन् ।

 

रियादस्थित नेपाली दूतावासको श्रम गुनासो शाखामा यस्ता पीडितहरूको सूची लामै छ । दूतावासको रेकर्डअनुसार पछिल्ला महिनामा कम्पनीहरू कामदारका तलब भुक्तानी गर्न असमर्थ भएकाले पीडित कामदारको चाप बढिरहेको छ ।

 

‘बीचमा तलब नपाउने समस्या कम हुँदै आएको थियो,’ कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले कान्तिपुरलाई भने, ‘पछिल्लो समय तलब नदिने कम्पनीबाट पीडित कामदारको गुनासो सुन्ने फुर्सद छैन ।’

 

साउदी सरकारबाटै भुक्तानी रोकिएकाले तलब दिन नसकेको कम्पनीहरू बताउँछन् । ३ सय जना अलपत्र कामदारलाई उद्धारको लागि दमाम पुगेका श्रमसहचारी कृष्णप्रसाद दवाडीलाई कम्पनीका अधिकारीहरूले जवाफ दिए, ‘जुन दिन भुक्तानी निकासा भएर आउँछ त्यो दिन नै सबैको तलब भुक्तानी हुन्छ ।’ कम्पनीहरूले मुख्य ठाउँबाट रकम निकासा नगरिदँदा यसको मार कामदारले भोग्नुपरेको छ ।

 

जीविका चलाउनै मुस्किल कम्पनीहरूले पीडितको लागि खाना र बासस्थानमा समेत ध्यान दिन छाडेका छन् । ८ महिनादेखि तलब नपाएका रामेछापका श्याम खड्काले भने, ‘दैनिक जीवन चलाउन एकदमै कठिन छ । बिहान खाए बेलुका के खाउँm, बेलुका खाए बिहान के खाउँm भएको छ ।’

 

‘हामीसँग ३ सयजना साथी छन्,’ सर्लाहीका देव मैनालीले भने, ‘कसैले सहयोग गरे भने दुई/चार दिनलाई मात्रै हो । नियमित गर्न सकिन्न ।’

 

इटहरीका आनन्द खतिवडाले भने, ‘मैले कतारमा कार्यरत भाइसँग पैसा मगाएर खाना खाने जोहो मिलाइरहेको छु ।’

 

पीडितहरू श्रम समस्या समाधानका लागि स्थानीय श्रम विभाग पुगे पनि प्रभावकारी सुनुवाइ हुँदैन । कम्पनीका अधिकारीहरू भुक्तानी नभएको चेक विभागमा पेस गर्छन् । श्रम विभागले ती कम्पनीलाई कालोसूचीमा राखिसकेको छ । ‘कालोसूचीमा राखेर मात्रै हुँदैन । हाम्रो उद्धार हुनुपर्छ,’ इटहरीका खतिवडाले भने, ‘त्यही नभएपछि के अर्थ र ?’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026