साउदीमा आठ कामदार अलपत्र

12 March, 2018

काठमाडौंस्थित एक म्यानपावरमार्फत रोजगारीका लागि साउदीको अल्फाक कम्पनीमा पुगेका खोटाङका आठ जना नेपाली कामदारले आफूहरु विचल्लीमा परेको बताएका छन् ।

 

विगत एक वर्षदेखि काम  र तलव नपाएपछि आफूहरु विचल्लीमा परेको उनीहरुले बताएका हुन् । उनीहरु चारवर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा साउदी गएका थिए । सुरक्षित आप्रवासन परियोजना खोटाङ सूचना केन्द्रमा दिएको निवेदनमा पृथ्वी बिक लगायत आठ जनाले कम्पनीले काम तलव नदिई बस्दै आएको ठाउँबाट समेत निकालिदिएको बताएका छन् ।  कोठाबाट हटाइएपछि आफूहरु थप समस्यामा परेको भन्दै उनीहरुले जति सक्दो चाँडो नेपाल फर्काउन पहल गरिदिन आग्रह गरेका छन् ।

 

समस्यामा पर्नेहरुमा सर्लाहीका राम बहादुर मलोन, उदयपुरका देवान श्रेष्ठ, जाजरकोटका बिष्णु नेपाली, भीमप्रसाद दाहाल, धनुषाका रामसागर मण्डल, सिराहाका बिन्देश्वर मोची र पाँचथरका सन्तोष आङ्देम्बे छन् । अलपत्र परेकाहरु मध्ये कसैलाई मेसन तथा कसैलाई कार्पेन्टरको काममा भन्दै लगिएको भएपनि शुरु देखि नै कम्पनीले करार बमोजिमको काम नदिएको उनीहरुको गुनासो छ ।

 

नेपाल फर्किन उनीहरु धेरै पटक दूतावास समेत धाइसकेको बताएका छन् ।  दूताबासले कम्पनीसंग कुरा गर्दैछौं चाँडै तपाईहरु घर फर्किन पाउनुहुन्छ भनी आश्वासन दिएको उनीहरुको भनाइ छ । पछिल्ला दिनमा करार अवधि सकिएपछि पनि कम्पनीले तलव र एक्जिट पर्मिट नदिँदा धेरै नेपाली समस्यामा रहेका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024