साउदीमा अलपत्र नेपालीको उद्धार

17 September, 2016

काठमाडौंः आकर्षक तलब र राम्रो काम लगाइदिने भन्दै साउदी अरब पुर्‍याइएका सातजना कामदारलाई प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ ।

 

कर्णाली मेनवापर नेपालगन्जमार्फत साउदीस्थित हासा इएल-डोस्री फोम साउदी नामक कम्पनीमा पठाइएका यी कामदारले तलब नपाएको र उल्टै यातना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखामा फोनमार्फत जानकारी गराएका थिए ।

 

महाशाखाको हटलाइनमा उनीहरूले तलब माग्न जाँदा पटकपटक कुटाइ खानुपरेको, काम नदिएको र खानबस्नसमेत समस्या भएकाले जीवनरक्षाका लागि गत साउन ८ मा अपिल गरेका थिए ।

 

महाशाखाका अनुसार उद्धार गरिएका नेपालीमा बर्दिया जमुनी सीतापुरका देवबहादुर कँडेल, मुगुका रनबहादुर रोकाया, नेपालगन्जका मोहम्मद आरुन खान, निसार खान, बर्दिया शिवपुरका खग्रेन्द्रनाथ योगी, बाँके मनिकापुरका लीलबहादुर रोक्का मगर र बाँके पुरौनाका मोहम्मद सबिर खान छन् । उनीहरूलाई साउदीस्थित नेपाली दूतावासको सहयोगमा महाशाखाले उद्धार गर्न सफल भएको जानकारी महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले दिए ।

 

महाशाखाका अनुसार तीन महिनाअगाडि मात्रै उनीहरू साउदी गएका थिए । ‘पैसा कमाउने अभिलाषा बोकेर गएका उनीहरूले धेरै दुःख र कष्ट व्यहोरेको सुनेपछि परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उद्धार गरियो’, एसएसपी खनालले भने । उद्धार गरिएका नेपाली कामदारले अझै पनि सयौं नेपालीले साउदीमा दुःख र कष्ट व्यहोर्दै आएको जानकारी प्रहरीलाई गराएका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026