साउदीको जेलमा ५ सय ४४ नेपाली, अधिकांश मदिरा प्रयोगकर्ता

16 June, 2025

विष्णु घिमिरे

साउदी : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ५ सय ४४ नेपाली जेल परेका छन्। साउदीको कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ५ सय ४४ जना नेपाली जेल परेका हुन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् ।

साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय रुपमा हेरिन्छ। साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार अनुसार ५ सय ४४ जना नेपाली विभिन्न कारणले जेलमा रहेको बताए ।

उनका अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा , ८४ जना लागु‍औषध ओसारपसार , ५३ जना चोरी मुद्दामा,बेश्यावृतीमा १२ जना , तोडफोडमा १६ जना, घुसखोरीमा १५ जना ,हत्यामा ४ जना, नियम उल्लङ्घनमा ७ जना, अन्य गतिविधिमा संलग्न रहेको आरोपमा १६ जना जना जेल परेको बताए। जसमध्ये ३ सय ४१ जनालाई आधिकारिक रुपमा फैसला सुनाएर जेल चलान गरिएको छ भने २ सय ३ जनाको फैसला आउन बाँकी रहेको छ ।

नेपाली राजदूत डा. नरेश बिक्रम ढकालले वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा कर्मथलो बनाएर कार्यरत नेपालीहरूले कानुनविपरीतका गतिविधि र साथीभाइको प्रलोभनमा परेर जेल चलान भएकोमा दुःख व्यक्त गर्दै यस्तो दुर्घटनाबाट बच्न नेपाली कामदार स्वयं सजक रहनुपर्ने बताए । साथै साउदीको नियम कानुन विपरित कार्य गर्दा भोग्नुपर्ने सजाय र समस्याप्रति सबैलाई सजग बनाउन नेपाली समुदायलाई आग्रह समेत गरेका छन् ।

नेपाली दूतावासका अनुसार अवैधानिक रुपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको र त्यस्ता नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा हाल सम्म ३८ सय भन्दा बढि एक्जिट भिसा प्राप्त गरी सकेका छन्। दूतावासले श्रमिकहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै, समस्यामा परेमा तुरुन्तै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै, दूतावासले साउदी अरबको कानुन र नियमहरूको पालना गर्न,मर्यादा र शिष्टाचारमा रही काम गर्न, र कुनै पनि अवैध क्रियाकलापमा संलग्न नहुन सुझाव समेत दिएको छ ।

साउदी अरबमा कार्यरत नेपालीहरू कम्पनी छोडेर भाग्नुका धेरै कारणहरू छन्। जसबाट मध्ये केही प्रमुख कारणहरू श्रम शोषण र खराब कार्य वातावरणको समस्या,कफाला प्रणालीको दुरुपयोग,मानसिक र शारीरिक तनाव,ठगी तथा गलत आश्वासन,राम्रो अवसरको खोजी,कानुनी प्रक्रियाबारे अज्ञानता आदि रहेको पाइन्छ।

साउदीमा लगभग चार लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ साथै रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समय कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो छ श्रम सम्झौताभन्दा बढी पैसाको लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका पाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024