सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

16 November, 2017

रुद्र खड्का

 

आफू मातहतका कर्मचारीलाई मेनपावर व्यवसायीसँग घुस माग्न लगाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

 

आयोग टोलीले मेनपावर सञ्चालकबाट १० लाख रुपैयाँ घुस लिन कर्मचारी पठाएको आरोपमा महानिर्देशक पाण्डेलाई चावहिलस्थित उनकै घरबाट बुधबार पक्राउ गरेको हो । अख्तियारले एसआरएस ओभरसिज सञ्चालिका सुभद्रादेवी बरालसँग १० लाख रुपैयाँ घुस माग्ने विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायबसुब्बा खड्गबहादुर केसीलाई रकमसहित मंगलबार पक्राउ गरेको थियो । पक्राउ यी दुई कर्मचारीले महानिर्देशकले निर्देशन दिएकाले पैसा लिन गएको बयान दिएपछि पाण्डेलाई पनि पक्राउ गरिएको हो । पाण्डेमाथि गोप्य तबरबाट करिब २ सय नयाँ मेनपावर कम्पनीलाई दर्ता गर्न स्वीकृति दिएको र त्यसबापत प्रत्येकबाट २ देखि ५ लाख रुपैयाँ असुली गरेको आरोप लाग्दै आएको थियो । 

 

एसआरएस सञ्चालिका बरालले आफ्नो कम्पनीको रोक्का भएको कारोबार खुला गर्न विभागका कर्मचारीले १० लाख रुपैयाँ मागेको रेकर्डिङ अख्तियारलाई उपलब्ध गराएपछि अनुसन्धान थालिएको थियो । अख्तियारको निर्देशनअनुसार बरालले विभागका दुई कर्मचारीलाई १० लाख रुपैयाँ घुस दिँदै गर्दा अख्तियार टोलीले उनीहरूलाई नगदसहित नयाँ बानेश्वरस्थित इन्द्रेनी फुडल्यान्डबाट पक्राउ गरेको थियो ।

 

विभागका कर्मचारीलाई घुस दिने उक्त मेनपावर ५२ जना नेपाली कामदारलाई अलपत्र पार्ने कम्पनी हो । संयुक्त अरब इमिरेट्सको हुमा कम्पनीमा सुरक्षागार्डका लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँसम्म लिएर सो कम्पनीले पठाएका नेपाली अलपत्र परेपछि विभागमा उजुरी परेको थियो । एकैचोटि ५२ जना पीडितले उजुरी दिएपछि दबाब थेग्न नसकेको विभागले एसआरएस ओभरसिजको कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का नगरिदिन हारगुहार गरेकी बरालले जोरबल नचलेपछि पीडितलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएकी थिइन् । प्रतिबद्धताअनुसार पीडितले क्षतिपूर्ति नपाएपछि उक्त मेनपावरविरुद्ध आक्रोश बढेको थियो ।

 

विभागले उक्त ओभरसिजको कारोबार रोक्का गरेपछि बराल सर्वोच्च अदालतबाट कारोबार नरोक्न जारी अन्तरिम आदेश लिएर केही दिनअघि विभाग पुगेकी थिइन् । तर, विभागका कर्मचारीले पीडितको उजुरी नटुंगेको भन्दै कारोबार फुक्का गर्न आनाकानी गरिरहेका थिए । पछि मेनपावर सञ्चालिका बराल र विभागका कर्मचारीबीच १० लाख रुपैयाँ लिएर कारोबार फुक्का गर्ने सहमति भएको स्रोतको भनाइ छ । विभागका कर्मचारीलाई १० लाख रुपैयाँ घुस दिन राजी भएकी बरालले सोही समयमा अख्तियार टोलीलाई खबर गरेकी थिइन् ।

 

डेढ वर्षमा पाँच अधिकृत पक्राउ

 

घुस लिएको आरोपमा डेढ वर्षयता वैदेशिक रोजगार विभागका पाँच कर्मचारी पक्राउ परेका छन् । १६ महिनाअघि लेखाअधिकृत प्रकाश आचार्य सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार टोलीबाट पक्राउ परेका थिए । त्यसको केही महिना बित्न नपाउँदै अर्का अधिकृत रमेश लामिछाने सात लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका थिए ।

 

विभागका सहसचिव तहका कर्मचारी घुस प्रकरणमा भने यसअघि पक्राउ परेका थिएनन् । महानिर्देशक पाण्डे पक्राउ परेपछि विभागका कतिपय कर्मचारीले काम गर्न गाह्रो र लाजमर्दो भएको गुनासो गरिरहेका छन् । विभागका निर्देशक मोहन अधिकारीले बुधबारको घटनाले एक्लो महसुस भइरहेको र जसले गर्दा काम हुननसकेको बताए ।  कतिपय कर्मचारी सार्वजनिक स्थलमा वैदेशिक रोजगार विभागमा काम गर्छु भनेर परिचय दिन पनि लाजमर्दो भएको बताउँछन् ।

 

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले विभागका महानिर्देशक पक्राउको घटना सञ्चार माध्यमबाट सुनेको तर वास्तविक कारण थाहा नपाएको बताए । ‘आज (बुधबार) म चितवनमा आप्रवासनसम्बन्धी एक कार्यक्रममा सहभागी छु । महानिर्देशक पक्राउको घटनाबारे विस्तृत जानकारी छैन,’ मैनालीले भने । विभागका कर्मचारीलाई घुस लिन बोलाएर पक्राउ गराएकी बरालसँग पटकपटक सम्पर्क गर्न खोज्दा मोबाइल स्विच अफ गरिएको पाइयो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026