‘सरकारले हङकङलाई रोजगारीको उपयुक्त गन्तव्य बनाउन सक्नुपर्छ’

27 February, 2020

सरकारले वैदेशिक रोजगारीको लागि युरोपियन मुलुकको खोजी गरिरहँदा हङकङ पनि आकर्षक गन्तव्य बन्न सक्ने गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष राधिका गुरुङले बताइन् ।

उनले आज पत्रकारहरूसँग भेट गर्दै हङकङ रोजगारीका लागि सरकारसँग सहकार्य गर्न आवश्यक रहेको बताएकी हुन् । रोजगारीको सिलसिलामा दिनहुँ हजारभन्दा बढी युवा खाडी मुलुकमा भित्रिने गर्छ । खाडी मुलुकभन्दा सुरक्षित र कमाइका हिसाबले पनि बलियो रहेको हङकङमा रोजगारीमा पठाउन सके सरकारले धेरै लाभ लिन सक्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘महिलाहको लागि घरेलु कामदार र पुरुषका लागि सुरक्षा गार्डको लागि उपयुक्त देश छ ।’ साथै, कमाइ पनि महिलाको लगभग ७० हजार र पुरुषको एक देखि एक लाख ५० हजारसम्म हुने उनले बताइन् ।

सरकारसँग गैरआवासीय सदस्यहरूबाट पूर्ण रुपमा हङकङको रोजगारी खुलाउनुपर्नेमा जोड दिइरहेको उनले जानकारी दिइन् । ‘बारम्बार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयमा रोजगारी खुलाउनुपर्छ भनेर पत्राचार गरेका छौं ।’ यसमा परराष्ट्र मन्त्रालयबाट सकारात्मक विचार राखेको उनले बताइन् । यसको लागि श्रम मन्त्रालयमा पनि पत्राचार गरेको हुनाले एक पटक त्यहाँको सरकारसँग कुरा गर्न आवश्यक रहेको उनले जानकारी दिइन् ।

नेपाल र हङकङको हावापानी मिल्दोजुल्दो र दूरीको हिसाबले पनि नजिक भएकाले हङकङ नेपाली युवाको आकर्षक गन्तव्य बन्न सक्ने उनको दाबी छ । अहिले लगभग ३० हजार हाराहारीमा नेपाली वैधानिक रुपमा हङकङमा बसोबास गरिरहेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024