सरकारले मलेसियासँग कलिङ भिसाको विवरण माग्यो

21 January, 2019

तुलसी सुवेदी

सरकारले मलेसियासँग भएको श्रम सम्झौताअघि प्राप्त गरेका कलिङ भिसाको विवरण मागेको छ। वैदेशिक रोजगार विभागले कलिङ भिसाको वास्तविक तथ्यांक बुझ्नका लागि म्यानपावर कम्पनीसँग विवरण माग गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चापागाईले १५ दिनभित्र त्यस्ता विवरण पठाउन म्यानपावर कम्पनीसँग माग गरेका हुन्। सरकार र मलेसियाबीच कार्तिक १२ गते भएको श्रम सम्झौतापश्चात बनेको दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीले कलिङ भिसाका कामदार पठाउने निर्णय गरेपनि सरकारले पठाएको थिएन।

विभागका महानिर्देशक चापागाईले म्यानपावरले बुझाएको विवरणका आधारमा सरकारले त्यस्ता कामदारलाई पठाउन सक्ने संकेत गरेको छ। व्यवसायीले कलिङ भिसा प्राप्त गरेका कामदार ९ हजार २३४ रहेको दावी गर्दै आएका छन्। सरकारले त्यस्ता कामदारको फोननम्बरसहित विस्तृत विवरण माग गरेको हो।

सरकारले उक्त विवरण प्रमाणित गरेर मात्रै १५ दिनपछि त्यस्ता कामदार पठाउन सक्ने विभागले जनाएको छ।प्राविधिक टोलीले कलिङ भिसाका कामदारलाई जान दिने निर्णय गरेपनि श्रममन्त्री गोकर्ण बिष्टले कामदार ठगी गर्ने भीएलएनमार्फत कलिङ भिसा आएकालाई पनि अन्तिम श्रम स्वीकृति नदिने अडान लिँदै आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024