सभामुख महराद्वारा कतारमा कार्यरत नेपाली श्रमिकको सुरक्षामा चासो

8 April, 2019

सभामुख कृष्णबहादुर महराले कतारमा कार्यरत नेपाली कामदारको पेसागत सुरक्षा र सेवासुविधाबारे चासो देखाएका छन् । अन्तर व्यवस्थापिका सङ्घ -इन्टर पार्लियामेन्ट्री युनियन-आइपीयू)को १४० औँ सभामा सहभागी हुन कतार पुगेका सभामुख महराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीसँग आइतबार भएको शिष्टाचार भेटमा नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका हुन् । 

 

‘कतारमा अहिले ४ लाख बढी नेपालीहरू विभिन्न पेसा र क्षेत्रमा काम गरिरहेका छन्,’ सभामुख महराले अलथानी समक्ष भने, ‘उनीहरूको पेसागत तथा भौतिक सुरक्षा, सेवा सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो।’भेटका अवसरमा सभामुख महराले नेपाल-कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताए। ‘समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई प्रगाढ बनाउन कतारको भूमिका निकै महत्त्वपूर्ण छ’, सभामुख महराले भने,’ यसका लागि नेपाल-कतार सम्बन्ध थप मजबुत बनाउन जरुरी छ।’

 

छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको बताउँदै सभामुख महराले नेपालमा विकासको थुप्रै सम्भावनाहरू रहेको र कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरे। कतारमा संसदीय प्रतिनिधि मण्डलका सदस्यको तर्फबाट प्रतिनिधि सभाका सदस्यहरू शान्ता चौधरी, पुष्पा भुसाल, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, राष्ट्रिय सभाका सदस्य हरिचरण शिवाकोटी, सङ्घीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी रहेका छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024