चेन्नई, भारत — चेन्नई सहरको गल्लीभित्र पुरानो घरको तेस्रो तलामा एउटा साँघुरो कोठा, यही कोठामा तीन दिदीभाइ खेल्छन्, कराउँछन्, हाँस्छन्, चिच्याउँछन् । सुदूरपश्चिमको डडेलधुरामा जन्मिएका उनीहरू ११, ९ र ७ वर्षका भए । ४ वर्षका कान्छो भाइ राम्ररी बोल्न, देख्न र उभिन सक्दैनन् ।
कोठाको बीच भागमा एक टुक्रा म्याट्रेसमाथि पल्टिरहन्छन् । भाइलाई नाघ्दै, उफि्रँदै, खेल्दै गर्दै गरेका यी तीन दिदीभाइको चैन एकैछिनमा हराउँछ, जब उनीहरूकी आमा रूपावती (परिवर्तित नाम) गाली गर्न थाल्छिन् ।
हातमुख जोर्न मजदुरीको खोजी गर्दै रूपावती श्रीमान् र बालखा छोराछोरीसहित दक्षिण भारत आइपुगेकी हुन्, डडेलधुराको घरदेखि झन्डै तीन हजार किमि टाढा । जसरी पश्चिम नेपालको पहाडी भेगका धेरैजसो व्यक्ति कामको खोजीमा परिवारै भारतका विभिन्न राज्य पुग्छन् ।
गत चैतको एक साँझ डेरामा भेट भएकी रूपावतीले दुई छाक टार्ने कामको खोजीमा परिवारै भारतसम्म आइपुग्दा आफू र छोराछोरीले भोगेका दर्दनाक कथा खोतलिन् । श्रीमान्को यातनाका कारण उनी छोराछोरीसहित छुट्टै बस्दै आएकी छन् । फुलबुट्टे नीलो कुर्ता र खैरो सलवार लगाएकी उनले भनिन्, ‘यी लुगा पनि यतैका छिमेकीले दया गरेर दिया हुन् ।’
छोराछोरीसहित एउटा कोठा भाडामा लिएर बस्छिन् । उनीहरूका लागि कोठाको एउटा कुनो भान्साघर हो । अर्को कुनो लुगाफाटा राख्ने ठाउँ । अनि बाँकी भुइँ सुत्ने ठाउँ । तीन छोराछोरीलाई सरकारी स्कुलमा भर्ना गरिदिएकी छन् । उनी अर्काको घरमा भाँडा माझेर र भुइँ पुछ्ने काम गरेर महिनाको भारु १० हजार कमाउँछिन् । ६ हजार कोठा भाडा र पानी, बिजुलीको बिल तिर्दै सकिन्छ । बाँकीले बालबच्चालाई कापीकलम, चामल, नुन, तेल टार्छिन् ।
…
सुदूरपश्चिम र कर्णालीको पहाडी क्षेत्रका स्थानीय मौसमी कामदारका रूपमा भारत पुग्नु पुरानै चलन हो । पहिले घरैपिच्छेका पुरुषहरू कृषि मजदुर, चौकीदार, ज्यालादार, खाना पकाउने तथा सरसफाइको कामदारका रूपमा भारततिर जान्थे । महिला, बालबालिका र बुढाबुढी घर कुर्थे । भारत गएकाहरू बर्खामा खेती गर्न, दसैंतिहारलगायत चाडबाड मनाउन र अन्नबाली भित्र्याउन घर फर्किन्थे । जीवनयापन ठिकठाक चल्थ्यो ।
तर, केही वर्षयता जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा कमी र जीवनयापनमा समस्या हुन थालेपछि पश्चिम पहाडका परिवार नै भारत पलायन हुने क्रम बढेको श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले गत पुसमा सार्वजनिक गरेको ‘नेपालः आप्रवासन र जलवायु परिवर्तन अनुकूलनका लागि मानव सुरक्षा र लैंगिक समानतामा आधारित दृष्टिकोण प्रवर्द्धन परियोजना’ प्रतिवेदनले औंल्याएको छ ।
‘बिस्तारै जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष असर जीविकोपार्जनमा देखिन थाल्यो । गाउँमा कृषि उब्जनीमा गिरावट आउन थाल्यो,’ उक्त प्रतिवेदनका प्रमुख अनुसन्धाता सञ्जय शर्माले भने, ‘गाउँमै खेती गरेर या कृषि मजदुरी गरेर जीविका चलाउनुभन्दा सहरमा वा विदेशमा काम गरेर मिठो मसिनो खाने विचारले थुप्रै परिवार बसाइँ सर्न थाले, कतिपय सपरिवारै विदेशिए ।’
त्यस्तै परिवारमध्येको एक हो, ३२ वर्षीया रूपावतीको परिवार । दलित समुदायकी उनले सानैदेखि दुःख र विभेद झेलिन् । २० वर्षको उमेरमा प्रेमविवाह भयो । घर त थियो, तर गरिखाने जग्गा थिएन । कृषि मजदुरी गर्थे । कमाइ गर्ने रोजगारीका अरू अवसर थिएनन् । ‘ठूला जातिका खेतबारीमा काम गर्ने, त्यसबापत पाएको अन्नपातले पेट पाल्न थाल्यौं,’ उनले सम्झिइन् । कृषि मजदुरी गरेबापत साहुबाट गहुँ, चामल, कोदोलगायत अन्न पाउँथे । नगद चाहिए ऋण सापटी पनि साहुबाटै लिन्थे, खेतबारीमा काम गरिदिएर त्यो चुक्ता गर्थे ।
तर, जब लामो खडेरी, भारी वर्षा जस्ता अप्रत्याशित मौसमी प्रणाली देखियो, कृषि उत्पादनमा गिरावट आउन थाल्यो । कृषि मजदुरका रूपमा उनीहरूको माग पनि घट्न थाल्यो । ‘समयमा पानी नपर्ने, चाहिनेजति हिउँ नपर्ने, खडेरी लाग्ने भएपछि खेतीबाली सप्रिन छाड्यो, साहुहरूले खेती कम लगाउन थाले, आफैंले काम गर्ने भए, हामीले काम पाउन छाड्यौं,’ रूपावतीले भनिन्, ‘त्यसपछि बिहान–बेलुका के खाने, छोराछोरीलाई के खुवाउने समस्या हुन थाल्यो, हामीले जानेको त्यही अर्काको खेतबारी स्याहार्ने मात्र न थियो ।’
…
राष्ट्रिय तथ्यांक कार्यालयको ‘जलवायु परिवर्तन प्रभावबारे राष्ट्रिय सर्भेक्षण २०२२’ ले पनि खडेरीले मुलुकभर खेतीपातीमा असर पारेको देखाएको छ । देशव्यापी सर्भेक्षणमा सहभागी एकै स्थानमा २५ वर्षदेखि बसोबास गर्दै आएका ६५.४ प्रतिशत घरपरिवारले खडेरीको सामना गर्नुपरिरहेको बताएका छन् । भौगोलिक रूपमा पहाडी भूभागका कृषकहरू यसको बढी मारमा छन् । यसैगरी ८७ प्रतिशत घरपरिवारले पानी पर्ने चक्रमा परिवर्तन आएको महसुस गरेको बताए ।
गत वैशाखमा कान्तिपुरले गरेको स्थलगत रिपोर्टिङअनुसार बझाङमा मात्रै ०७८ सालमा अविरल वर्षापछिको बाढीपहिरोमा परेर घरबार गुमाएकामध्ये १२५ भन्दा बढी दलित परिवार चार वर्ष बित्दासम्म पुनःस्थापनाको राहत नपाएपछि सपरिवारै भारततिर बसाइँ सरिसकेका छन् ।
यस्तै समस्याका कारण अरू छिमेकी जस्तै रूपावती र उनका पतिले गाउँ छाडेर भारत जाने सोच बनाए । आठ हजार रुपैयाँ सापटी मागेर घरमा ताल्चा मारेर चारै छोराछोरीसहित बाटो लागे । यो ०७९ पुसको कुरा हो । घरबाट निस्केको चौथो दिन आफन्त बस्ने गरेको कर्नाटक राज्य पुगे । अपरिचित सहरमा काम पाउनु सजिलो थिएन । ‘काम नपाउन्जेल आफन्तकामा बस्यौं, तर त्यो पनि कहाँ सजिलो थियो र, उनीहरू पनि डेरामै बस्ने थिए,’ रूपावतीले सुनाइन् । केही महिनापछि रूपावतीका पतिले एउटा कन्स्ट्रक्सन साइटमा चौकीदारको काम पाए । उनीहरूको छ जनाको परिवारलाई अट्ने सानो टहरो पनि पाए ।
तर, परिस्थितिले सोचेभन्दा ठिक उल्टो रूप लियो । उनका पति रक्सी खाएर आउने, घर झगडा र होहल्ला गर्न थाले । वरिपरिका छिमेकीले गुनासो गरेपछि काम दिनेले बस्ने ठाउँ नै छाडेर जान भने । काम थालेको दुई महिनामै उनीहरूको उठीबास लाग्यो । आफन्तको सहयोगमा डेरा खोजेर बस्न थाले । रक्सीको कुलतमा फसेका पतिले दिनहुँ सताउन थाले ।
घर चलाउन रूपावती अर्काको घरमा भाँडा माझ्न र भुइँ पुछ्ने (झाडुपोछा लगाउने) काम गर्थिन् । तर, कमाएर ल्याएको रकम पतिले बाटैबाट खोसेर रक्सी खाएर सकिदिन्थे । ‘नभए मारौंलाझैं गरी कुट्थे, छोराछोरीलाई खेदाउँथे, यो कान्छोलाई समेत टिपेर फ्याल्दिने गर्थे, जबरजस्ती शारीरिक सम्बन्ध राख्थे, नमाने जथाभाबी पिट्थे,’ उनले सुनाइन् ।
डेराका सामान पनि बेचेर खाएपछि बालखा छोराछोरीलाई बोरा दिएर सडक र सार्वजनिक स्थलमा खाली सिसी, कागज, बोतल टिप्न पठाउँथे । त्यो बेचेर पनि रक्सी नै खान्थे । त्यतिले पनि नपुगेपछि छोराछोरीलाई माग्न पठाउँथे । त्यसपछि श्रीमान्लाई कर्नाटकमै छोडेर उनी चेन्नई आइन् ।
…
रूपावती जस्तै भारतमा मजदुरीका लागि पसेकाहरूमा पारिवारिक विखण्डन र त्यसको मारमा बालबालिकाका समस्या बढ्दै गएको बताउँछन्, नयाँदिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा काम गर्दै आएका नवीन जोशी । ‘गाउँमा खेतीपातीले जीविका नचल्ने भएपछि बैंग्लोर, मुम्बई, चेन्नईलगायत भारतका विभिन्न सहरमा परिवारै आउने क्रम बढेको छ,’ उनले बताए, ‘श्रीमान्ले चौकीदारको काम गर्ने, गाडी धुने, श्रीमतीले भुइँ पुछ्ने, भाँडा धुने काम गर्दै आएका छन् ।’ बुवाआमा दुवै मजदुरीमा जानुपर्ने वा उनीहरूबीच द्वन्द्व भएमा छोराछोरीको हेरचाह नपुग्नेलगायत जोखिम देखिएको उनले बताए ।
उनका अनुसार दशकअघिसम्म भारतमा बेचिने पीडितहरू अधिकांश काठमाडौं आसपासका जिल्लाका हुन्थे । ‘अहिले हामीले उद्धार गरेकामा बढीजसो तराई क्षेत्रका र पश्चिमी पहाडी भेगका छन्,’ जोशीले भने । नेपाल–भारत मानव बेचबिखनविरुद्ध अभियानमा काम गर्ने संस्था ‘किन इन्डिया’ को अभिलेखअनुसार सन् २०१८ देखि २०२४ सम्म ६ सय ४२ नेपालीको उद्धार गरिएको थियो, जसमा ६ सय महिला र बालबालिका थिए ।
अभिभावकले हेरचाहका लागि समय दिन नसक्दा भारतमा नेपाली बालबालिका हिंसाको सिकार पनि हुँदै आएका छन् । गत मंसिरमा बैंग्लोरमा ६ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या भएको थियो । बाआमा काममा गएकाले उनी डेरामा एक्लै थिइन् ।
त्यसको फाइदा उठाएर बिहार घर भएका एक कामदारले उनको बलात्कार गरेर हत्या गरेको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । ‘यो त बाहिर आयो र थाहा भयो, कति त थाहै पाइँदैन, कति यतै हराउँछन्, उजुरी गर्न जाऔं भने नेपाली भएकाले यहाँको प्रहरी प्रशासनबाट खासै सहयोग पाइँदैन,’ डोटी घर भई चेन्नईमा चौकीदारको काम गर्ने अर्जुन रोकायाले बताए ।
परदेशमा पारिवारिक विचलनका कारण बालबालिका बेवारिस बन्ने गरेका छन् । रोकायाले गत चैतमा नेपाली श्रमिकबाट २५ हजार भारु चन्दा उठाएर परिवार र आफन्तबाटै बेवास्तामा परेर बिचल्ली भएका पाँच नेपाली बालबालिकालाई बस्ने बासको व्यवस्था गरिदिएको बताए ।
‘बुवाआमाले नहेरेपछि केही समय आफन्तकहाँ बस्न ठिकै हुन्छ, त्यसपछि त हेप्न थाल्छन्,’ उनले भने, ‘के मिल्दैन, बाउ एकातिर, आमा अर्कोतिर लाग्छन्, जसो भए पनि बालबालिका नै समस्यामा पर्छन्, खाने, लाउने र बस्ने टुंगो हुँदैन ।’ पारिवारिक समस्याले धेरै बालबालिकाले शारीरिक र मानसिक विकासका क्रममा चाहिने उपयुक्त पारिवारिक वातावरणसहितको पालनपोषण, हेरचाह, शिक्षा र स्वास्थ्यको अवसर गुमाउँदै आएका छन् ।
…
चेन्नई भारतका अन्य सहरमध्ये सुरक्षित मानिने हुँदा नेपाली श्रमिकको पहिलो रोजाइमा पर्ने गरेको छ । तर, भाषा, संस्कृति, अत्यधिक गर्मीलगायत कारणले हिन्दी भाषा बोलिने सहरहरूको तुलनामा दैनिकी चलाउन केही हदसम्म असहज हुने गर्छ । चेन्नई पुग्नेबित्तिकै खान, लाउन पुग्ने काम र अभिभावकलाई बालबच्चाको ख्याल गर्ने समय पाउन मुस्किल पर्छ ।
‘तैपनि वर्षमा एक–दुईचोटि दसैंतिहारको अवसर पारेर आफन्त, साथीभाइबीच जमघट गर्छौं,’ डोटी घर भई चेन्नईमा मजदुरी गर्दै आएका वीरेन्द्र रोकायाले भने । उनी पत्नी र तीन सन्तानसहित चेन्नईमा बस्छन् । उनी चौकीदारको काम गर्छन् । पत्नीले अर्काको घर सफाइ गर्छिन् ।
यसैगरी चेन्नईस्थित समुद्रीतट मरिना क्षेत्र नेपालीहरू भेला हुने र टहलिने सार्वजनिक थलो हो । तामिलनाडु राज्यको विभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरू पनि हरेक वर्ष जनवरी २६ मा यहाँ भेला हुन्छन् । दुःखसुख साटासाट गर्छन् । ‘त्यो दिन इन्डियाले गणतन्त्र दिवस मनाउँछ, त्यहाँ काम गर्ने हामी सबैजसोले त्यस दिन बिदा पाउँछौं, यही मौकामा हामी पनि सांस्कतिक कार्यक्रम गर्छौं,’ रोकायाले भने ।
भारतमा काम गर्ने नेपालीको सन्दर्भमा नेपाल सरकारले उपेक्षा गरेको उनीहरूको गुनासो छ । ‘खाडी देशमा अनौपचारिक क्षेत्रमा नै काम गर्न जानेका लागि राज्यले नीति नियम, कानुन बनाएको छ, तर हामी भारत आउनेको त तथ्यांक पनि राखेको हुँदैन, समस्या पर्दा भारतले सुन्ने कुरै भएन, आफ्नै देशले त उपेक्षा गरेको छ,’ चेन्नईमा काम गर्ने किशोर पौडेलले भने ।
…
नेपाली बालबालिकाले नयाँ ठाउँ र परिवेशमा थप जोखिम सामना गर्नुपरिरहेको राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ बताउँछन् । ‘तर के कसरी र कति संख्यामा जोखिममा पर्छन्, त्यसको समाधान के हो भनेर अध्ययन गर्न सकेका छैनौं । बालबालिकाकेन्द्रित बजेट कार्यक्रम सरकारको प्राथमिकतामा नै पर्दैन,’ उनले भने, ‘भारतको कुनै ठाउँमा नेपाली बालबालिका अलपत्र अथवा जोखिमपूर्ण स्थानमा भेटिएका छन् भन्ने जानकारी पायौं भने पनि नेपालसम्म उद्धार गरेर ल्याउन संघसंस्थाहरूलाई हारगुहार गर्नुपर्ने स्थिति छ ।’
मानव बेचबिखनविरुद्धको अभियानमा काम गर्दै आएका जोशीले भारतमा रहेका नेपाली बालबालिकाका सन्दर्भमा अध्ययन हुन नसकेको बताए । जनगणना ०७८ अनुसार करिब ७ लाख नेपाली भारतमा कामको खोजीमा गएका छन् । तर यसमा बालबालिकाको संख्या कति छ भन्ने छुट्टिँदैन । भारतमा बस्दै आएका नेपालीहरूले यहाँ आएर काम गर्नेको संख्या जनगणनाको तथ्यांकभन्दा धेरै हुने दाबी गर्छन् ।
‘यहाँ छुवाछूत भोग्नुपरेको छैन’
भारत नेपाली श्रमिकका लागि रोजगारको अवसर मात्रै होइन, आत्मसम्मानसहित बाँच्न पाउने थलोसमेत बनेको छ । डडेलधुरा घर भई चेन्नईमा घरेलु काम गर्दै आएकी ४५ वर्षीया दलित महिलाले भनिन्, ‘आफ्नै देशमा छिःछि, दुरदुर सहनुपर्छ, यहाँ छुवाछूत जस्तो विभेद भोग्नुपरेको छैन ।’ उनी १२ वर्षअघि पतिसँगै चेन्नई आएकी हुन् । स्थानीय भाषा नजानेका कारण सुरुमा काम पाउन कठिनाइ भयो । छ/सात महिना बसेपछि यहींको परिवेशसँग घुलमिल भइन् । घरमा झाडुपोछा लगाउने, भाँडा माझ्ने काम पाएपछि दंग परिन् ।
‘म यहींको तामिल बाहुनको घरमा काम गर्न थालें, उता हुँदा जातपात र छाउपडी त उपद्रै मान्थे, त्यसो भएर कसको चलन के हुन्छ, सोधेकै राम्रो भनेर यो जातिको हुँ, महिनावारी भएका बेला काम गर्न मिल्ने हो कि नाइँ भनेर पहिले सोध्थें,’ उनले भनिन्, ‘तर यहाँ त्यस्तो प्रथा नमान्ने रहेछन्, पूजा गर्ने भाँडा नि मैले माझिदिने गरेको छु ।’
उनी बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म तीन घरमा भाँडा माझ्ने, झाडुपोछा लगाउने गर्छिन् । मासिक भारु ३० हजार कमाउँछिन् । ‘नेपालमा गयो भने माथिल्ला जातिले परै पार्ने हुन्, कहाँ यहाँ जसरी पैसा देख्न पाइन्छ र,’ उनले भनिन् । समाजशास्त्री मीना पौडेल नेपालीहरू देशै छाडेर जानुमा विभिन्न कारण रहेको बताउँछिन् । ‘यसरी परिवारै बसाइँ सरेर जानुमा राजनीतिक र आर्थिक कारण मात्रै छैनन्, लैंगिक, जातीय तथा सामाजिक विभेदबाट अलग्गिन पनि विदेश (भारतसहित) जान्छन्,’ उनले भनिन् ।