कुमारी लामा (४६)का दिनहरू सामान्य चलिरहेको थिए । गत शनिबार उनी दिनभर काम गरेर कोठा फर्किइन् । उनको फोनमा नोटिफिकेसन आउन थाल्यो । भनिएको थियो, ‘दुबईको विभिन्न भागमा मिसाइल प्रहार भयो ।’ युएईको आज्मानमा बस्ने उनको मथिंगल हल्लिन थाल्यो । डरले एकछिन अलमल भइरहिन् । उनको योजना थियो, अझै केही वर्ष युएईमा बस्ने । तर, मिसाइल प्रहार हुन थालेपछि युएईको बसाइमा पूर्णविराम लागेको सोच्न थालिन् । ‘आबुधाबीमा फायर भएको, मंगलबार राति गोलाबारुध पड्किएको कुरा नेपाली साथीहरूबाटै थाहा पाएँ । गोरखाको एकजनाको मृत्यु भएको कुरा थाहा पाएँ । यहाँ नेपालमा जस्तो सबै कुरा तुरुन्तै थाहा पाइँदैन । कसैले भन्दैनन् । लेख्दैनन् पनि,’ उनी भन्छिन्, ‘अहिलेसम्म त सुरक्षित नै छु । दुबई र आबुधाबीमा बस्ने साथीहरूचाहिँ एकदमै डराइरहनु भएको छ ।’
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि त्यसको तरंग विश्वभर फैलिएको छ । इरानले पनि खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गर्न थालेपछि त्यहाँ रहने नेपाली कामदार त्रसित छन् । मोरङकी लामाजस्ता धेरैलाई अहिले आफू कसरी सुरक्षित हुनेभन्दा पनि छिट्टै घर फर्किनुपर्ला भन्ने पीडाले सताएको छ ।
उनी युएई गएको सात वर्ष भयो । श्रमिकको रूपमा वैदेशिक यात्रामा हिँड्न थालेको दुई दशक नाघ्यो । सन् २००५ मा घरेलु कामदारको रूपमा कुवेत पुगेकी उनलाई पहिलोपटक देश छाड्नको तिथिमिति याद छ । वैदेशिक रोजगारीकै लागि मलेसिया गएका श्रीमान् बिरामी भएर नेपाल फर्किएपछि छोराछोरी पढाउन र घरव्यवहार चलाउन उनी कुवेत पुगेकी थिइन् । २१ वर्षअघि कुवेत पुग्दा ६ महिनासम्म उनले नेपाली नै देखिनन् । ६ महिनापछि पहिलोपटक एकजना नेपाली देख्दा उनी अत्तालिन् । उनलाई संसारै देखेजस्तो भयो । बुबाआमा नै भेटेजस्तो लाग्यो । ‘दाइ…’ भन्दै दौडिँदै बोल्न गइन् । तर, ती व्यक्तिले उनलाई भने, ‘बहिनी मलाई दाइ भनेर नबोलाऊ । तिम्रो साहुनीले देख्यो भने मार्छ ।’ त्यसपछि उनीहरूबिच अरू कुराकानी भएन । कुवेतमा उनले पाँच वर्ष बिताइन् ।
उनी वैदेशिक रोजगारमा रहँदा तीन छोराछोरीलाई श्रीमान् र माइती मिलेर हेरचाह गरे । ‘तीन छोराछोरीलाई खेतीपाती गरेर पढाउन सक्ने मेरो क्षमता थिएन । खेतीले खानु कि बच्चा पढाउनु भयो । त्यसपछि श्रीमान्सँग सल्लाह गरेर घरबाट निस्किएँ,’ उनले भनिन् । उनी विदेशमा बसेर पैसा कमाउन थालेपछि छोराछोरीलाई पढाउन सजिलो भयो । जहाँ बसेर पढ्छु भने पनि पढाउन सकिने अवस्था बन्यो । आर्थिक रूपमा सजिलो त भयो, तर तीन ससाना सन्तान छोडेर काम गर्न उनलाई सजिलो भएन । अहिलेजस्तो सञ्चार प्रविधिको सुविधा थिएन । ‘छोराछोरीका लागि पराइ भूमिमा यहाँको पानीबराबर आसु बगाएँ । तर, रुन पनि राम्रोसँग पाइनँ । ट्वाइलेटमा गएर थुप्रै दिन रुँदै कटाएँ,‘उनले भनिन्, ‘मैले दु:ख गरेअनुसार छोराछोरीलाई शिक्षादीक्षा दिन र घर चलाउन सहज भएको देख्दा खुसी नै लाग्छ ।’
उनकी जेठी छोरी हिरादेवी लामा अहिले पूर्ण छात्रवृत्तिसहित अमेरिकाको वासिङटन विश्वविद्यालयमा टिचिङ असिस्टेन्टको रूपमा पढाउँदै छिन् ।
कुवेतबाट फर्केपछि २०११ देखि ०१६ सम्म मलेसिया बसिन् । ०१७ मा नेपाल फर्किइन् । त्यसपछि उनी अहिलेसम्म युएईमै छिन् । अचानक युद्ध सुरु भएपछि नेपाल फर्किनुपर्ने हो कि भन्ने डर उनलाई लागेको छ । ‘नेपाल गएर पनि के गर्नु । भनेजस्तो काम पाइँदैन । दुई–चार वर्ष अझै यतै बसेर कमाउन पाए छोराछोरीलाई आफ्नो खुट्टामा उभ्याउन सकिन्थ्यो कि ! घरपरिवार चलाउन थप सजिलो हुन्थ्यो भन्ने लागेको हो,’ उनले थपिन् ।
दुबईमै बस्ने मोती अधिकारी(४५)लाई आफू बस्ने ठाउँको अवस्था ठिकठाकै लागेको छ । उनी आफू सुरक्षित नै रहेको ठान्छिन् । ‘हामी बसेको भन्दा एक–ढेड घण्टा टाढा अलिअलि गोला बारुध फ्याँकेको छ । दुबईले उडाइदिएको छ । अरू मान्छेले झुटो कुरा फैलाएको हो । दुबईले हान्यो भने हामीलाई डर हुने हो । दुबईले हानेको छैन । त्यसैले ठिकै छ,’ उनले भनिन् । कुवेत, ओमान हुँदै दुबई पुगेकी उनी एकल आमा हुन् । उनी वैदेशिक रोजगारीको यात्रामा निस्केको दुई दशक नाघ्यो ।
१६ वर्ष मै विवाह भएको उनले नेपालमा सुखको अनुभूति गर्न पाइनन् । दिनरात श्रीमान्को घरेलु हिंसा झेलिन् । समाजको डरले उनले श्रीमान्लाई चटक्क छोड्न पनि सकिनन् । ससाना कुरामै पिटाइ खाँदै बसिन् । एक्कासि उनको श्रीमान्ले आत्महत्या गरे । त्यसवेला उनी २३ वर्षकी थिइन् । छोराछोरी पाल्नकै लागि उनी घरेलु श्रमिकको रूपमा काम गर्न कुवेत आइन् । ‘श्रीमान् बित्नुभयो । छोराछोरी पढाउन गाह्रो भयो । बस्ने वास पनि थिएन । छोराछोरीकै लागि म विदेश आएँ,’ उनले भनिन् ।
श्रमिकको रूपमा उनी कुवेत पुग्दा छोरी जम्मा दुई वर्षकी थिइन् । दुध खाने छोरी र आमाको काख खोज्ने उमेरको छोरालाई छोडेर उनी वैदेशिक रोजगारीको यात्रामा निस्केकी थिइन् । उनले भाषा नजान्दा चम्चाभन्दा चक्कु लगिन् । आठजना बच्चा हेरिन् । बच्चाले बदमासी गरे पनि उनैले दोष खेपिन् । बिस्तारै भाषा बुझ्न थालेपछि उनले काम गर्ने घरबाट माया पाउन थालिन् । विदेशीका बच्चा स्याहार्दा आफ्नो बच्चा सम्झिएर उनी धेरै रोइन् । ‘घरमा फोन गर्दा नरोएको दिन हुँदैनथ्यो । छोराछोरीको सम्झनाले धेरै रोएँ । यसरी नै दुई वर्ष बित्यो,’ उनले भनिन् ।
कुवेतमै छँदा उनलाई टाउको दुख्ने रोगले सतायो । जस्तोसुकै स्वास्थ्य समस्या आए पनि उनको उद्देश्य थियो, महिनाभर काम गरेर पैसा कमाउने, छोराछोराको पढाइका लागि नेपाल पठाउने । उनको अर्को उद्देश्य पनि थियो, आफ्नै कमाइले घर बनाउने । तर, उनले सोचेजस्तो भएन । ‘आफू अंग्रेजी नजाने पनि छोराछोरीलाई बोर्डिङमा पढाएँ । मैले नपढेकाले घरमा काम गर्नुपर्यो । उनीहरूले कुर्सीमा बसेर काम गरून् भनेर पढाएँ, ‘उनले भनिन्, ‘तर छोराछोरीले राम्रोसँग पढेनन् । दु:ख बुझेनन् । दु:ख नबुझ्दा मेरो मन टुट्यो ।’
स्याङ्जाकी देविका न्यौपाने(४३) दुबई बस्न थालेको करिब १५ वर्ष भयो । खाडी देशमा देखिएको तनावका कारण उनी पनि चिन्तित छिन् । उनलाई अझै केही समय दुबईमै बस्न मन छ । केही कमाउनु छ । छोराछोरी दुवै आत्मनिर्भर भएको हेर्ने रहर छ ।
दुबई आउनुअघि उनको श्रीमान् कतार गएका थिए । कतारमा चार वर्ष बसेपछि उनको श्रीमान् बिरामी भएर नेपाल फर्किए । त्यसपछि देविकाको यात्रा दुबईतर्फ मोडिएको थियो । दुबई जानुको उनको पनि उद्देश्य थियो, पैसा कमाएर छोराछोरीलाई राम्रो शिक्षा दिने, घर–व्यवहार सहज रूपमा चलाउने । एउटी आमा भएकाले चटक्क घर छोडेर हिँड्न उनलाई सहज थिएन । १० वर्षको छोरा र ५ वर्षकी छोरीलाई आमाजु र श्रीमान्सँग छोडेर उनी विदेश लागिन् ।
उनको पनि सुरुवाती दिन निकै कष्टकर भयो । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ तरिका, भारी मन । अहिलेजस्तो सामाजिक सञ्जाल र फोनको व्यवस्था थिएन । ‘बच्चालाई आफ्नै आमाले हेरेजस्तो के हुन्थ्यो । मैले यता संघर्ष गरेँ । उनीहरूले पनि नेपालमा बसेर संघर्ष गरे,’ उनले भनिन् । अहिले उनको श्रीमान् घरमै खेतीपाती सम्हालेर स्याङ्जा बस्छन् । छोराछोरी पढ्न काठमाडौं बस्छन् । चारजना तीनतिर भएका छन् । पारिवारिक बिछोडका बाबजुद छोराछोरीलाई राम्रो शिक्षा दिन पाउँदा पीडामा मलम लगाएजस्तो भएको छ ।
काभ्रेकी सपना मोक्तान लामा(३१) बहराइन पुगेको १४ महिना भयो । उनी बस्ने जुफेरमा अमेरिकाको सैन्य बेसक्याम्प छ । जुफेरमा बस्न असुरक्षित भएपछि उनीलगायतलाई कम्पनीले सुरक्षित ठाउँमा राखेको छ । तर, मिसाइल विस्फोटको आवाज भने उनी सुनिरहन्छिन् । मनमा त्रास बढेको छ । ‘एक–दुई घण्टा केही नभएजस्तो हुन्छ । फेरि के–के पड्केको आवाज आइहाल्छ,’ उनले भनिन् ।
आठ वर्षकी छोरी सासूको जिम्मा लगाएर उनी वैदेशिक रोजगारीमा लागेकी हुन् । उनको श्रीमान्सँगको सम्बन्ध कहिल्यै राम्रो भएन । श्रीमान्ले छोरीलाई पनि वास्ता गरेनन् । त्यसैले छोरीको भविष्यका लागि उनी बहराइन गइन् । तर, अहिले अवस्था ठिक नहुँदा उनी अन्योलमा छिन् । ‘कति वेला के हुन्छ भन्ने थाहा छैन । त्रासमै छौँ, डराएर–कराएर पनि केही हुन्न,’ उनले भनिन् । छोरीसँग उनको दैनिकजसो कुरा हुन्छ । उनको पनि उद्देश्य छोरीलाई राम्रो शिक्षादीक्षा दिनु हो । दुई वर्षको श्रमसम्झौता गरेर बहराइन गएकी उनलाई अहिलेको माहोलले त्रसित बनाएको छ । छोरीलाई भनेजस्तो गर्न नसक्ने हो कि भन्ने पिरले सताउँछ ।
धादिङकी सबिना तामाङ(३०) कतार गएको दुई वर्ष नाघ्यो । उनको नेपाल फर्किने वेला भएको थियो । तर, अवस्था एकाएक असामान्य बन्यो । घरको आर्थिक अवस्था सुधार्न र छोराको राम्रो शिक्षाका लागि भन्दै उनी कतार उडेकी थिइन् । उनको श्रीमान् धादिङमै पसल चलाउँछन् । सात वर्षका छोरा माइतीमा छन् । उनी बहराइनमा । तीनजनाको परिवार तिनतिर भएको छ । ‘छोरा माइतीमा बसेर पढेको छ । फर्किने वेला भएको थियो । तर, अहिले अवस्था यस्तो भयो । बम पड्केको आवाज सुनिन्छ । अहिलेसम्म त सुरक्षित नै छौँ,’ उनी भन्छिन् ।
०००
वैदेशिक रोजगार विभागका अनुसार बर्सेनि ६० हजार महिला श्रमका लागि बिदेसिरहेका छन् । गत वर्षको तथ्यांकअनुसार तीन वर्षमा २१ लाख ४२ हजार नेपाली प्रवासिएका छन् । जसमध्ये दुई लाख महिला छन् । यो तथ्यांक श्रम स्वीकृति लिएर जाने महिलाको मात्रै हो । दुई लाखमध्ये कतिजना सन्तान छाडेर गएका आमाहरू हुन् भन्नेबारे कुनै पनि निकायले तथ्यांक राखेको देखिन्न । खाडी मुलुकमा पुगेका अधिकांश महिलाहरू घरेलु कामदारको रूपमा जान्छन् ।
वैदेशिक रोजगारमा श्रमिकको रूपमा जाने आमाहरू तेहेरो मारमा पर्ने सरोकारवालाहरूको बुझाइ छ । मध्यपूर्वका नेपाली श्रमिकहरूको विषयमा विद्यावारिधि गरेकी अनुसन्धानकर्ता डा. विभूति भट्टराई वैदेशिक रोजगारमा गएका श्रमिक आमाहरूले पारिवारिक विखण्डन भोगिरहेको र बच्चा र आमाबिचको दूरी डरलाग्दो गरी बढिरहेको बताउँछिन् । ‘अनुसन्धानको क्रममा विदेशमा आमाहरू बच्चा सम्झेर रोइरहेको धेरै भेटेँ । श्रीमान्ले छोडेको, मृत्यु भएको, पारिवारिक अपहेलनामा परेर वैदेशिक रोजगारमा गएका महिलाहरूको अवस्था फरक छ । जो श्रीमान्को आर्थिक अवस्था कमजोर भएर, स्वेच्छाले गएका छन्, ती महिलाको हकमा पारिवारिक विखण्डनको कुरै नगरौँ,’ उनले भनिन्, ‘मातृत्व नै विखण्डित हुँदै गएको देखिन्छ । आमाहरू बच्चाका लागि खटिएका हुन्छन् । बच्चाहरू आमाको आधारभूत मायाबाट टाढिँदै गइरहेका छन् । त्यसले एक खालको मनोविज्ञान निर्माण गर्छ । समाज र परिवारले ‘तेरी आमा निष्ठुरी नै हो’ भन्ने बनाइदिने हुन्छन् । बच्चाले आमा मेरै लागि गएको हो भन्ने बुझ्न र सोच्न सक्दैन । त्यसले बच्चा र आमाबिचमै दूरी सिर्जना गर्ने डरलाग्दो अवस्था छ ।’
उनका अनुसार पारिवारिक आत्मीयता, बच्चा र आमाबिचको सम्बन्धमा वैदेशिक रोजगारीले ठुलो खाडल सिर्जना गरेको छ । जुन व्यक्त गर्न सक्ने अवस्था नै छैन । ‘आमा बच्चाको गुणस्तरीय शिक्षा, स्वास्थ्यका लागि खटेको हुन्छ । आफ्नो छोराछोरीका लागि जे पनि गर्ने हो भन्ने हुन्छ । यता बच्चाले आफ्नोपन नै नपाउने, आमा नेपाल आउँदा पनि नचिन्ने अवस्था छ । चिने पनि काखमा आउँदैन । काखमा आए पनि नजिक हुन्न । त्यो कुराले दिदीबहिनीहरू रुन्छन् । उनीहरूले त्यो पीडा व्यक्त गर्नै सकिरहेका छैनन्,’ उनले भनिन् ।
आप्रवासनविज्ञ सरु जोशी श्रेष्ठलगायतको टोलीले गरेको एक अध्ययनअनुसार वैदेशिक रोजगारमा गएका आमाबुबाको छोराछोरीमा अन्य बालबालिकाको तुलनामा धेरै समस्या देखिएको छ । ‘हामीले गरेको अध्ययनमा विदेश रहेका बुबाआमाको छोराछोरीहरूमा पढाइमा बेवास्ता गर्ने, नहाँस्ने, जाँगर नदेखाउने, आफ्नो स्वास्थ्यको पनि ख्याल नगर्नेजस्ता समस्या देख्यौँ,’ श्रेष्ठले भनिन् ।
खाडी मुलुकमा धेरैजसो महिला घरेलु श्रमिकको रूपमा जाने र गैरकानुनी बाटोबाट जाने भएकाले थप समस्या भोग्नुपर्ने बताइन् । युद्धको वेला उनीहरू थप मारमा पर्न सक्नेसमेत उनको बुझाइ छ । ‘युद्धको समयमा सरकारले सूचना र जानकारीका लागि हटलाइन फोन नम्बर, गुगल फर्मको व्यवस्था गरेको छ । यी कुरा अहिले उनीहरूको नेटवर्कले पुर्यायो भने मात्र हो, होइन भने सही सूचना पाउन सक्दैनन् । सही सूचना नपुग्दा के भएको हो भन्ने उनीहरूलाई थाहै हुँदैन,’ उनले भनिन्, ‘उनीहरू अहिले आत्तिरहेका छन् ।’
डा. भट्टराई वैदेशिक रोजगारीमा पठाउने प्रक्रियामा पुनर्संरचना र पुन: इन्जिनियरिङ गर्नुपर्ने बताउँछिन् । ‘नेपालको अर्थतन्त्रको सबैभन्दा ठुलो प्राणवायु रेमिट्यान्स हो । त्यसैले नेपालले वैदेशिक रोजगार नीति, ऐन, नियमहरू नै परिवर्तन गर्नुपर्छ । उनले भनिन्, ‘एकातिर रेमिट्यान्स भिœयाइरहने । अर्कोतिर, श्रमिकको हकहितमा काम नगर्न त मिलेन नि । यद्यपि, प्रयासचाहिँ केही भएको देखिन्छ । वैदेशिक रोजगार नयाँ नीति जारी भएको छ । त्यसमा श्रमिकलाई केन्द्रमा राखेर काम भएको देखिन्छ । तर, वैदेशिक रोजगार ऐन र नियमावलीमा परिवर्तन नहुन्जेल त्यो नीतिले खासै फरक पार्ने देखिँदैन ।’
अहिलेको प्रणालीबाट विश्वस्त हुने ठाउँ नरहेको उनको बुझाइ छ । ‘समाजको उत्पादन सम्बन्ध, उत्पादन प्रणालीले फरक पार्ने हुनाले यो प्रणालीमा सुधारात्मक काम मात्र हुन सक्छ । अहिलेको नवउदारवादी अर्थ–व्यवस्थामा श्रमिकले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन पाउँछन् भन्ने लाग्दैन ।’ उनले भनिन् ।
मानसिक अस्पताल लगनखेलमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. सुधा गौतम आमा विदेश जानु नै कठोर निर्णय भएको र त्यसले आमालाई त असर गर्छ नै बच्चाको मानसिक अवस्थामा नराम्रो प्रभाव पर्ने बताउँछिन् । उनका अनुसार मानसिक अस्पतालमै पनि यस्ता समस्या बोकेका धेरै बालबालिका र परिवार आउँछन् । ‘आमाहरू सानो बच्चालाई घर वा माइतीको जिम्मामा छाडेर जान्छन् । त्यसपछि बच्चाले हेरविचार त पाउँछन्, तर कताकता खालीपना, न्यास्रोपनाले उनीहरू पीडित हुन्छन्,’ गौतमले भनिन्, ‘पढाइमा ध्यान नदिएको, पढाइ खस्केको, स्कुलको अतिरिक्त क्रियाकलापमा समेत ध्यान नदिने समस्या देखिएपछि हामीकहाँ आउने पनि छन् ।’ आमाले नै छाडेर वैदेशिक रोजगारीमा हिँडेपछि त्यस्ता बालबालिकामा डिप्रेसनको उच्च सम्भावनासमेत देखिएको उनको भनाइ छ । भन्छिन्, ‘बुबाले भन्दा आमाले छाडेर गएको बच्चाहरूमा डिप्रेसनको सम्भावना उच्च हुन्छ ।’