संसद् र समितिका बैठकमा श्रम शोषण भयो : कर्मचारी युनियन

16 June, 2023

काठमाडौँ — श्रम शोषण भएको भन्दै संसद् सचिवालयका कर्मचारीको विरोध जनाएका छन् । लामो समयदेखि कार्यालय समयभन्दा बाहेक बिहानदेखि रातिसम्म बैठक जारी भएका कारण आफूहरूको श्रम शोषण भएको उनीहरूले जनाएका हुन् ।

संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले शुक्रबार एक सूचना जारी गर्दै संघीय संसद्का दुवै सभा र समितिका बैठकहरू अबेर चल्दा आफूहरू मारमा परेको जनाएका हुन् । सचिवालयका कार्यरत कर्मचारीको खटाइलाई संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति र अर्थ मन्त्रालयले कमजोरीका रूपमा लिँदै श्रम शोषण गरिरहेको उनको भनाइ छ ।

त्यसैको विरोधस्वरूप युनियनले शुक्रबार बिहान सांकेतिक रूपमा बैठक ३० मिनेटपछि मात्र सुरु गरेको हो । शुक्रबार बिहान ८ बजेदेखि संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि सुनुवाइ हुने कार्यक्रम थियो । तर कर्मचारीको विरोधका कारण केही ढिला सुरु भएको छ ।

अध्यक्ष बेल्वासेको अनुरोधमा भनिएको छ, ‘संघीय संसद् सचिवालयका कर्मचारीहरूले विगत लामो समयदेखि कार्यालय समयबाहेक बिहान ८:०० बजेदेखि समितिहरूका बैठक र दुवै सभाका बैठक राति १०:०० बजेसम्म निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा सबैमा जानकारी गराउँदछौं । सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको अहोरात्र खटाईलाई संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समति र अर्थ मन्त्रालयले कमजोरीका रूपमा लिई गम्भीर श्रम शोषण गरिरहेको हुनाले आजको संसदीय समितिको बैठक सांकेतिक रूपमा ३० मिनट पछि मात्र सुरु हुने व्यहोरा अनुरोध गर्दछु ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024