शान्ता कमली
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले लोकतन्त्रको नाममा संविधान र संसदको सर्वोच्चतालाई आत्मसात गर्न नसके लोकतन्त्र नजोगिने बताएका छन् । विपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै मन्त्री विष्टले आफुलाई लोकतान्त्रिक पार्टी ठान्नेहरुले विधि र प्रक्रियालाई आत्मसाथ गर्न जरुरी रहेको बताएका छन् ।
बुधबार सदरमुकाम बेसीशहरमा आयोजित दोस्रो तामाङ महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले सरकारको तर्फबाट विपक्षी दललाई विधि र प्रक्रियाको आत्मसाथ गर्न आग्रह गरे ।
गरिब जनताको जीवनलाई एकै रातमा रुपान्तरण गर्न सकिन्न
सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढिरहेको बताउँदै मन्त्री विष्टले गरिब जनताको जीवनलाई एकै रातमा रुपान्तरण गर्न असम्भव रहेको बताए ।
सरकारले जनताको जीवनलाई समृद्ध पार्नेगरि नीति, कानुन र संरचना निर्माण गरिरहेको उनले बताए । सडक, विद्युत, आर्थिक गतिविधि, सामाजिक सुरक्षा अभियान, देशभित्रै रोजगारी दिनेगरि विभिन्न सन्दर्भमा सरकारले काम गरिरहेको उनले बताए ।
अमेरिका र जापानका युवालाई नेपालमा रोजगार
उनले देशमा पर्याप्त रोजगारी सिर्जना गरिने बताएका छन् । देशमै रोजगारी सृजना गरि युवालाई विदेश जान रोक्नेगरि सरकार अघि बढेको उनले बताए । उनले केही वर्षमा हाम्रा युवाको विदेश पलायन मात्र नरोकी अमेरिका र जापान जस्ता मुलुकका युवालाई नेपालमा रोजगारको वातावरण बनाउने बताए ।
सामाजिक सुरक्षा भत्तामा पाँच वर्षमा ५ हजार पुर्याइने
मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने बताए । आगामी वर्ष सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने बताउँदै मन्त्री विष्टले पाँच वर्षमा ५ हजार पुर्याइने बताए ।