श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रका विकृति हटाउने उद्देश्यले विशेष टास्क फोर्स गठन गरेर परिचालन गरेको छ । यस्तो टोलीले अनुगमनलाई तीव्रता दिएको छ
आइतबारदेखि टोलीले अनुगमन थालेकोमा बिहीबारसम्म ३० दुई दर्जनभन्दा धेरै संस्थानमा अनुगमन गरेको छ । मेनपावर कम्पनी, मेडिकल सेन्टर तथा तालिम प्रदायक संस्थामा अनुगमन थालिएको छ । अनुगमनमा देखिएका कमजोरीका आधारमा त्यस्ता संस्थामाथि कारबाही गरिने मन्त्रालयले जनाएको छ।
अनुगमन गर्दा अधिकांश संस्थामा समस्या देखिएको छ। टोलीले धेरैजसो मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूमा अनुगमन गरेको छ । नेपालका मेडिकल सेन्टरमा पास भएकाहरू विदेश गरेर फेल हुने गरेकाले यसमा केन्द्रित भई मन्त्रालयले अनुगमन थालेको छ । कतिपय मेडिकल सेन्टरले स्वास्थ्य परीक्षण गरिने व्यक्तिहरूको विवरणसमेत नराख्ने गरेको अनुगमनमा भेटिएको छ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले प्रहरी अधिकारीसमेत राखेर टास्क फोर्स बनाएका हुन्। विगतमा अनुगमन र कारबाही नहुँदा वैदेशिक रोजगार क्षेत्रमा धेरै विकृति देखिएको भन्दै अहिले नियम नमान्ने संस्थामाथि कारबाहीलाई तीव्रता दिन थालिएको छ ।