श्रमिकको तलब १५ हजार हुनुपर्ने

24 May, 2013

श्रमिकको न्यूनतम तलब मासिक १५ हजार हुनुपर्ने माग राख्दै नेकपा–माओवादी सम्वद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला उद्योग वाणिज्य संघमा धर्ना दिने भएको छ। सरकार र राष्ट्रिय स्तरका एघार ट्रेड युनियनबीच छलफल चलिरहेका बेला महासंघले आफ्नो छुट्टै अस्तित्वका लागि धर्ना कार्यक्रम राखेको हो। 

‘न्यूनतम तलब निर्धारणको माग राख्दै शुक्रबार धर्ना दिँदैछौं,’ महासंघका संयोजक रामदीप आचार्यले बिहीबार नागरिकसँग भने। महासंघले औद्योगिक क्षेत्र बन्द गर्ने कार्यक्रम स्थगित गरेर धर्ना कार्यक्रम राखेको हो। महासंघले बुधबार उद्योगी व्यवसायीसँग छलफल गरेपछि बन्द कार्यक्रमलाई फिर्ता गरेको हो।  ‘उद्योगीहरुको सुझावका आधारमा हामीले बन्द कार्यक्रम फिर्ता लिएर धर्नामा बस्ने निर्णय गरेका हौं,’ आचार्यले भने। यता न्यूनतम तलब निर्धारणबारे सरकार, टे्रड युनियन र रोजगारदाताबीचको छलफल बिहीबार पनि भयो। स्रोतका अनुसार बिहीबारको छलफल सहमतितर्फ अघि बढेको बैठकमा सहभागी एक उद्योगीले बताए। उनका अनुसार केही दिनमै सहमति अघि बढेर त्रिपक्षीय सम्झौता हुनेछ। 

रोजगारदाताको तर्फबाट महासंघले राष्ट्र बैंकको मूल्यवृद्धिको तथ्यांकका आधारमा मजदुरको न्यूनतम तलब निर्धारण गर्न सुझाव दिएको छ भने ट्रेड युनियनहरुले १२ हजार ४ सय रुपैयाँ हुनुपर्ने माग गरेका छन्। स्रोतका अनुसार रोजगारदाता र ट्रेड युनियनले मध्यमार्गी बाटो अपनाएर तलब निर्धारण गर्ने भएका छन्। ‘दुवैले राखेको सुझावको बीच बाटो लिएर तलब निर्धारणमा सहमति हुनेछ,’ स्रोतले भन्यो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026