श्रमिकका लागि राहत प्याकेज घोषणा गर – नागरिक अगुवा

26 March, 2020

सेतोपाटी संवाददाता

नागरिक समाजका अगुवाहरूले श्रमिकहरूका लागि विशेष राहत घोषणा गर्न सरकारसँग माग गरेका छन्।

त्यस्तो राहत प्याकेजमा नि:शुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कुल शुल्क मिनाह, नि:शुल्क उपचारलगायतका व्यवस्था हुनुपर्ने उनीहरूको भनाइ छ।

बिहीबार विज्ञप्ति निकालेर पूर्वप्रधानन्यायाशीश कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले श्रमिकका लागि राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्।

‘उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नुपर्छ। त्यस्तो प्याकेजमा नि:शुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कूलमा फि मिनाह, निशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत् कार्यान्वयन गर्न सकिन्छ’ नागरिक समाजको विज्ञप्तिमा उल्लेख छ।

सरकारले हालैका दिनमा चालेका कदम स्वागतयोग्य रहेको उनीहरूको भनाइ छ।

‘तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ,’ उनीहरूले भनेका छन्।

नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको संख्या ‍ठूलो रहेको  विज्ञप्तिमा भनिएको छ।

‘संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्छ। उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नु पर्ने बाध्यता नहोस्’ उनीहरूको विज्ञप्तिमा उल्लेख छ।

कोरोना संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नुपर्ने काम प्रशस्तै रहेको उनीहरूले उल्लेख गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024