शनिबार मृत्यु भएका बरामको शव ६ दिनदेखि कतारमै

5 September, 2025

शिव उप्रेती

गोरखा : गत शनिबार कतारमा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन। ४२ वर्षका बरामको शव ६ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको वडा सदस्य गोलबहादुर बरामले जानकारी दिए।

वैदेशिक रोजगारीका क्रममा विगत १२ वर्षदेखि कतारमा रहेका बरामको गत शनिबार राति सुतिरहेको अवस्थामा शव भेटिएको बरामले बताए। ४२ वर्षीय बराम केही वर्षदेखि उच्चरक्तचापको समस्यामा थिए। ‘शनिबार बिदाको दिनमा साथी भाइसँग खानपिन गरेर सुतेको, बिहान उठ्दै नउठेको रहेछ’, वडाध्यक्ष बरामले भने, ‘त्यस रात अबेरसम्म श्रीमतीसँग कुराकानी भएको रहेछ। बिहान अबेरसम्म नउठेपछि साथी भाइहरूले खोजतलास गर्दा ओछ्यानमा मृत अवस्थामा फेला पारेछन्।’

बरामको एक छोरा र एक छोरी छन्।

बरामको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडासदस्य बरामले जानकारी दिए। ‘उनको घरको आर्थिक अवस्था निकै कमजोर छ। घरमा बुबा र भाइ पनि अपाङ्ग छन्। शव नेपाल ल्याउन हालसम्म कुनै पहल भएको छैन ।’ मृतकको शव छिटोभन्दा छिटो नेपाल ल्याउनुपर्ने माग परिवारको रहेको वडासदस्य गोलबहादुर बरामले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024