वैदेशिक रोजगार : श्रम स्वीकृति लिनेको सङ्ख्या घट्दो

20 September, 2023

काठमाडौँ, असोज ३ गते । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो दुई महिनामा २५ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आवको पहिलो दुई महिना (साउन–भदौ) मा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या एक लाख ४० हजार रहेकामा चालु आवको सो अवधिमा यो सङ्ख्या एक लाख पाँच हजारमा झरेको छ । जुन सङ्ख्या प्रतिशतका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष करिब २५ प्रतिशत कम हुन आउँछ ।

पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको असर श्रम गन्तव्य देशका रोजगारी क्षेत्रमा सङ्कुचन आएसँगै नेपालबाट रोजगारीमा जानेको सङ्ख्या घटेको हो ।

विभागका अनुसार गत वर्ष भदौ महिनामा सबैभन्दा धेरै साढे ७६ हजार श्रमिकले वैदेशिक रोजगारीमा जान विभागमा श्रम स्वीकृति लिएकामा यस वर्ष उक्त सङ्ख्या घटेर ५० हजारमा सीमित भएको छ । गत आवमा विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या वैदेशिक रोजगारको तथ्याङ्क राख्न सुरु गरे (२९ वर्ष) यताकै उच्च रहेको थियो ।

विभागले मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः घट्दै गएको जनाएको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीले गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि भएकामा यस वर्ष भने मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेकाले असर नेपालमा परेको बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया जाने प्रवृत्ति देखिएका कारण सङ्ख्या वृद्धि भएको थियो ।

आव २०७८/७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको दोस्रो महिनाबाट घट्न थालेको छ । गत आवको साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार श्रमिकले श्रम स्वीकृति लिएकामा चालु आवमा यो सङ्ख्या ५५ हजार रहेको छ । यसरी नै गत वर्षको भदौमा ७६ हजार ४०३ ले श्रम स्वीकृति लिएकामा चालु आवको भदौमा ५० हजारमा सीमित भएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024