वैदेशिक रोजगार विभागले श्रमिक ठगी गर्ने ३५२ जनाकाे विवरण सार्वजनिक गरेको छ। विभागकी महानिर्देशक मीरा आचार्यले ठगीमा परेका श्रमिकले दिएको उजुरीका आधारमा गरेको अनुसन्धानपछि ३५२ जनाको नाम, ठेगाना र ठगी गरेको रकम सार्वजनिक गरिएको बताइन्।
‘उजुरीपछि गरिएको प्रारम्भिक अनुसन्धानमा ठगी गरेको पुष्टि भएकाले संदिग्धहरूको नाम सार्वजनिक गरिएको हो,’ उनले भनिन्, ‘यीमध्ये कतिपयलाई अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । केहीको पक्राउ पुर्जीका लागि अनुमति लिने काम भइरहेको छ ।’
उनले श्रमिकलाई ठगी गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा उत्रिएको पनि बताइन्। ‘श्रमिक ठग्ने विरुद्ध हामी निरन्तर कारबाही गरिरहेका छौँ,’ उनले भनिन्, ‘अब भने अलि एग्रेसिभ भएर अनुसन्धान र कारबाहीलाई अघि बढाउन लागिएको छ।’
उनले ठगीमा परेका श्रमिकलाई यथेष्ट प्रमाणसहित उजुरी दिन पनि आग्रह गरेकी छिन्। दिनहुँ उजुरीको चाप बढिरहेकाले थप कर्मचारी व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय भइरहेको पनि बताइन्।