वैदेशिक रोजगार नियमावली संशोधन हुँदै

18 September, 2016

वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्यु भए परिवारलाई सात लाख रुपैयाँ दिने गरी नियमावली संशोधन गर्न श्रम तथा रोजगार मन्त्रालयले पहल थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा भदौ २३ मा सम्बोधन गर्दै मृतकको परिवारलाई दिइने राहत रकम बढाउन निर्देशन दिएका थिए। मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकसँग गरेको छलफलले राहत रकम बढाउन वैदेशिक रोजगार नियमावली २०६४ नै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय मन्त्रालयले गरेको छ।

 

मन्त्रालयले गत वैशाखमा विदेशमा मृत्यु भएका कामदारको परिवारलाई दिइने राहत रकम तीन लाख रुपैयाँबाट बढाएर पाँच लाख बनाउने निर्णय गरेको थियो। उक्त निर्णय कानुनी प्रावधानको अभावमा कार्यान्वयनमा नआइरहेका बेला मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनलाई लागू हुने गरी नियमावली संशोधन थाल्ने निर्णय गरेको हो। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराम काफ्लेका अनुसार बोर्डले राहत रकम बढाउने विषयमा निर्णय गरेर मन्त्रिपरिषद्मा नियमावली संशोधनका लागि पठाउनुपर्छ। ‘प्रधानमन्त्रीको निर्देशनअनुसार छिट्टै काम सुरु हुन्छ,’ उनले भने। प्रधानमन्त्रीले सम्बोधनमा थप पाँच मुलुकमा श्रम सम्झौताको तत्काल पहल थाल्न पनि निर्देशन दिएका थिए। मन्त्रालयले यूएई, कतार, कोरिया, जापान र इजरायलसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026