वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका-१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन्।
पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५ हजार ५ सय रुपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमन्द्रलाई काठमाडौँ रातोपुलबाट, राजमानलाई काठमाडौँ महानगरपालिका-९ बाट र सुमन्तालाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।