वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चारजना पक्राउ

18 February, 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका-६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-५ बस्ने ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापाको अर्जुनधारा नगरपालिका-५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४२ वर्षीय गोविन्द प्रसाद निरौला र गोरखाको गण्डकी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन्।

पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रुपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितबाट ५० लाख रुपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख ३ हजार रुपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024