वैदेशिक रोजगारीमा मलेसियाको कमब्याक, कतार नाकाबन्दीले मलेसिया नेपालीको पहिलो रोजाई

27 October, 2017

अमर बडुवाल

 

साउदी अरब लगायतका खाडी मुलुकले कतारलाई नाकाबन्दी लगाउने घोषणा गरेपछि मलेसियामा रोजगारी जाने बढेका छन्। कतारको नाकाबन्दीपछि केही वर्ष अघिसम्म आकर्षक रोजगार गन्तब्यको रुपमा रहेको मलेसियामा नेपाली जाने बढेका हुन्। नाकाबन्दी लाग्नुअघि कतार नेपालीको पहिलो रोजगार गन्तब्य थियो। नाकाबन्दी लागेपछि भने मलेसिया पहिलो रोजगार गन्तब्य बन्न पुगेको छ। नेपाल वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार कतारलाई नाकाबन्दी लगाउने निर्णयले सबै खाडी क्षेत्रको रोजगारी प्रभावित भएको छ।

 

“नाकाबन्दी सँगै रमदान पर्वको कारण पनि खाडी क्षेत्रको रोजगारीको माग सुस्त भएको हो।” गुरुङले भने, “खाडी क्षेत्रमा रोजगारीको माग नभएपछि युवाहरु मलेसिया तिर आकर्षित भएका हुन।”मलेसियाको नीतिगत सुधारले नभई खाडी क्षेत्रको तनावले नेपाली युवाको रोजाई मलेसिया हुन पुगेको उनले बताए।गत वर्ष १ लाख १२ हजार नेपाली मलेसिया रोजगारीका लागि गएका छन्।त्यही वर्ष कतारमा १ लाख २६ हजार नेपाली रोजगारीका लागि गएका थिए।

 

साउदी अरबमा ९६ हजार र युएईमा ४९ हजार नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्।यो वर्षको ६ महिनाको अवधिमा ६० हजार नेपाली मलेसिया गइसकेका छन् भने कतारमा ४४ हजार नेपाली मात्रै रोजगारीका लागि गएका छन्।युएईमा यो अवधिमा जम्मा २७ हजार नेपाली मात्रै रोजगारीका लागि गएका छन्।साउदी अरबमा यो वर्षको ६ महिनामा जम्मा २५ हजार नेपाली मात्रै रोजगारीका लागि गएका छन्।साउदीमा गत वर्षको सोही अवधिमा ६१ हजार नेपाली रोजगारीका लागि गएका थिए।वैदेशिक रोजगार विभागका अनुसार साउदी जाने नेपालीको संख्यामा ३६ हजारले कमी आएको छ।

 

यो तथ्याङ्क हेर्दा ६ महिनामा कतार जाने भन्दा मलेसिया जाने नेपाली करिब १६ हजारले बढेका छन्। जवकी गत वर्षको पहिलो ६ महिनामा मलेसियामा ३२ हजार नेपाली रोजगारीको लागि जाँदा कतारमा धन्नै दोब्बर अर्थात ६० हजार नेपाली रोजगारीको लागि गएका थिए।यो वर्ष मलेसियाले कतारलाई पनि उछिनेर पहिलो नम्बरमा आएको छ। तर पहिलो ६ महिनाको तथ्याड्क हेर्दा यो वर्ष गत वर्षको भन्दा ३० हजार कामदार कम विदेश गएका छन्।

 

सेवाशुल्कमा मनपरि

 

एक वर्षको अन्तरमा मलेसिया जाने कामदारको संख्या मात्रै बढेको छैन, मलेसिया जाने कामदारले तिर्ने सेवा शुल्क समेत बढेको छ। सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ भनेर १० हजार रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने नियम बनाएको छ। तर खाडी देशमा उत्पन्न संकटले नेपाली कामदार मलेसिया डाईभर्ट भएसँगै मलेसिया जान लिने सेवा शुल्क मनपरी असुल्न थालिएको छ। कामदार पठाउँदा विभिन्न शुल्कका कारण महँगो भएको मलेसियामा अहिले व्यवसायीले डेढदेखि दुई लाख रुपैयाँ लिन थालेका छन्।

 

सुशील कोइरालाको प्रधानमन्त्रित्वकालका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बंगलादेशी कामदारलाई मलेसिया पठाउन ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान ल्याएका थिए।यो प्रावधानले विदेश जाने नेपाली झन् ठगिए। डेढ लाख रुपैयाँसम्म तिर्ने कामदारले दश हजार रुपैयाँको मात्रै रसिद पाए।यही रसिदका कारण विदेशमा कुनै समस्या पाएर फर्किएमा तिरेको रकम पनि फिर्ता पाउन सकेनन्।

 

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024