वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ९३ लाखभन्दा बढी ठगी पाँच जना पक्राउ

28 July, 2025

प्रशान्त माली

काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–४ का साजन गुरूङ, ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका– १ का दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–५ बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ का टेकबहादुर केसी, ललितपुर महानगरपालिका–२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ का भरतप्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने पर्वत विहादी गाउँपालिका–४ का प्रेमप्रसाद भुषाल रहेका छन् ।

प्रहरीका अनुसार पक्राउमध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ६ लाख रूपैयाँ, टेकबहादुरले ग्रीस पठाइदिन्छु भन्दै २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024