वैदेशिक रोजगारीका शिलशिलामा ठगिएका सर्वसाधारणको २३ लाख भन्दा बढी रकम फिर्ता गरिएको छ ।
वैदेशिक रोजगारीमा पठाउँछु भन्दै पैसा लगेर फिर्ता नगर्ने अर्घाखाँचीका १३ जना सर्वसाधारणको २३ लाख २४ हजार ७६५ रुपैयाँ फिर्ता गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन केन्द्र (सामी) को पहलमा जिल्लाका विभिन्न स्थानका १३ जनाको रकम फिर्ता गरिएकाे छ ।
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आप्रवासी स्रोत केन्द्रमा ३४ वटा ठगीका उजुरी परेकामा १३ जनाको उजुरी फर्छौट गरी रकम फिर्ता भएको हो । पाँच जनाको आंशिक रकम फिर्ता भएको, तीन वटा उजुरी विभागमा पठाइएको, पाँच जनाको लेनदेनको कागज गरिएको र अन्यको फलोअपमा रहेको आप्रवासी स्रोत केन्द्र अर्घाखाँचीका कार्यक्रम संयोजक बसन्त श्रेष्ठले जानकारी दिए ।
केन्द्रले सात हजार आठ सय ८१ जनालाई वैदेशिक रोजगार सम्बन्धी परामर्श प्रदान गरेको छ । संयोजक श्रेष्ठका अनुसार वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका, अंगभंग भएका तथा दुर्घटनामा परेकाहरुको ६८ लाख ६९ हजार ४३१ रुपैयाँ बिमा बापतको रकम उपलब्ध गराएको छ ।
सुरक्षित तवरले श्रम सम्झौता गरेर मात्र वैदेशिक रोजगारीमा जान तथा बाहिर जाने क्रममा कोही ठगिएको भए जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा उजुरी गर्न प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले आह्वान गरेका छन् ।
विगत सात वर्षमा ५८ जनाले विदेशमै ज्यान गुमाए
अर्घाखाँचीबाट वैदेशिक रोजगारीमा गएकामध्ये विगत सात वर्षमा ५८ जनाले ज्यान गुमाएका छन्।
रोजगारीका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ५८ जनाले ज्यान गुमाएका हुन् । हालसम्म अर्घाखाँचीबाट ५७ हजार १२ जना वैदेशिक रोजगारीमा गएकामा ५८ जनाले ज्यान गुमाएको र ७४ जना अंगभंग तथा गम्भीर बिरामी परेको तथ्याङ्कमा उल्लेख छ ।
यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको मात्र हो। गैरकानुनी ढंगले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्यांक भने फरक पर्न सक्ने स्रोत केन्द्रले जनाएको छ ।
अर्घाखाँचीबाट गत आर्थिक वर्ष ०८०/०८१ मा आठ हजार आठ सय ५५ जना रोजगारीका लागि विदेश गएका थिए । कुल संख्याको ८ प्रतिशत महिलासमेत जिल्ला छाडेर रोजगारीका लागी विदेश गएका छन् ।
रेमिट्यान्स विलासितामै खर्च
विदेशमा आर्जन गरेको पैसा यहाँ विलासितामै खर्च हुने गरेको पाइएकाे छ । विदेशबाट पठाएको अधिकांश रकम दैनिक उपभोग्य सामान खरिद गर्नमै गएको तथ्यांकले देखाएको छ ।
विदेशबाट भित्रिएको पैसाको ७२.४० प्रतिशत रकम दैनिक घर खर्चमै गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यस्तै ऋण तिर्न १५.८ प्रतिशत, अध्ययनका लागी ४.६ प्रतिशत, घरजग्गामा १.९ प्रतिशत रकम खर्च भएको छ ।
देशका ५६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन् जसमध्ये भविष्यका लागि संचित गर्ने प्रतिशत दर १.९ प्रतिशत मात्र रहेको छ । नेपालमा आएको पैसाको अधिकांश रकम घर खर्च र विलासिताको सामानमै खर्चिएको देखिन्छ ।