वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार औसतमा दैनिक चारजना नेपाली कामदारको शव काठको बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेको छ। परिवारको सपना बोकेर वैदेशिक रोजगारीका क्रममा विभिन्न देश गएका व्यक्तिको मृत्यु हुँदा त्यस्ता परिवारको घर जगदेखि नै भत्किने गर्छ।
चुहिएको घरको छानो टाल्ने सपना बोकेर बैतडीका ३६ वर्षीय देवदत्त जोशी वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका थिए। उनी गएको दुई वर्ष भएपछि मलेसियामा अर्को एक वर्ष काम गर्न भिसा थपेका पनि थिए। त्यहाँ दुई वर्ष कमाएको पैसा विदेश जाँदाको तीन लाख ऋण र घर खर्च चलाएर थोरै रकम मात्र बचेको थियो। उक्त रकमले घर नबन्ने हुँदा भिसा थपेर अझै वर्ष दिन मलेसियामा दुःख गरेर फर्कने उनको सोच थियो, तर त्यो सपना अधुरै रह्यो।
मलेसियामा सेक्युरिटी गार्डमा व्यस्त रहेका उनी गत जेठ ४ गते पनि ड्युटी पोसाकमै काममा निस्किएका थिए। ड्युटी जाँदा र कोठामा फर्कंदा सधैं झैं उनको साथमा साइकल हुन्थ्यो। गत जेठ ४ गते बिहान ड्युटी गइरहेको समयमा बाटोमा साइकल एकातिर उनी अर्कोतिर बजारिए। कारण उनलाई पछाडिबाट कुनै सवारी साधनले ठक्कर दिएको थियो।
सडकमा छट्पटाइरहेका उनले आफ्नो फोन निकालेर साथीलाई अस्पताल पु¥याउन आग्रह गरेको उनकी पत्नी मीना जोशी बताउँछिन्। उनलाई मलेसियाको अस्पताल त पुर्याइयो तर, उनको बाँच्ने समय धेरै थिएन। अस्पतालमा राख्दाराख्दै महिना दिनपछि मृत्यु भएको उनकी पत्नी मीनाले बताइन्।
‘बाटोमा दुर्घटना भएपछि उहाँले साथीलाई फोन गरेर मलाई अस्पताल लैजानू भनेर फोन गर्नुभएको रहेछ’, मीनाले नागरिकसँग भनिन्, ‘साथीसँग कुरा गर्न सक्ने उहाँसँग मेरो कहिल्यै कुरै भएन। अस्पतालमा कसैले भिडियो कल लगाइदिन्थे। मेरो आवाज सुनेर उहाँका आँखाबाट आँसु मात्रै बग्थ्यो।’ मलेसियामा उपचार गराउँदा–गराउँदै पतिको ज्यान गएको मीना सुनाउँछिन्।
सडक दुर्घटनापछि देवदत्तको गत असार २ गते मलेसियामा मृत्यु भएको थियो। साइकलमा ड्युटी जाँदै गरेका देवदत्तलाई कुन सवारी साधनले ठक्कर दिएको अझै थाहा नभएको मीनाको गुनासो छ। ‘उहाँको बाटोमा दुर्घटना भएको भन्छन्, तर केले ठक्कर दिएको भन्ने अहिलेसम्म कसैलाई थाहा छैन’, उनी भन्छिन्, ‘हामीलाई उहाँको फोटो आइपुग्दा सडकमा लडेको अवस्थामा थियो।’
देवदत्तको सडक दुर्घटनाको दिन मीना ६ वर्षीय छोरालाई खाना खुवाएर हतारहतार विद्यालय पठाउँदै थिइन्। उता पति दुर्घटना भएर अस्पताल पु¥याएको खबर उनले साँझतिर मात्रै पाउँछिन्।
‘बिहानै उहाँ दुर्घटनामा पर्नुभएको रहेछ, मलाई भने बेलुका मात्रै थाहा भयो’, उनले मलिनो स्वरमा भन्छिन्, ‘उहाँका साथीले ड्युटी पोसाकमै सडकमा लडेको उहाँको फोटो पठाउँदा मेरो मन छियाछिया भयो। ती फोटा हेर्नै सकिनँ। मेरो होसै हरायो, बेहोसजस्तै भएँ। त्यतिबेला उहाँलाई आइसियुमा हालिसकेको रहेछ।’
पतिको कुनै पनि शरीर सग्लो नरहेको खबर मलेसियाबाट आएको थियो। अस्पताल पुर्याउँदासम्म थोरै होस रहेको थियो, तर देवदत्तलाई आइसियुमा हालेपछि पूरै अचेत भएको मीना बताउँछिन्।
‘आइसियुबाट निकालेपछि उहाँलाई होसमा ल्याउन करेन्ट लगाउनु पथ्र्यो’, उनले भनिन्, ‘करेन्ट लगाएपछि १/२ मिनेट मात्रै उहाँ होसमा आउनुहुन्थ्यो। हामीले उहाँलाई भिडियो कलबाट हेर्दा उनको शरीरमा केही बाँकी थिएन। उहाँलाई हेर्नै सकेकी थिइनँ। तैपनि भिडियो कलबाटै उहाँलाई हेरेर चित्त बुझाउँथें।’
जोशी परिवारमा तीन भाइमध्ये कान्छो छोरा देवदत्तको दुर्घटनापछि रेखदेखका लागि उनका भतिजो मलेसिया पुगेका थिए। भतिजो मलेसिया पुग्दा पति अन्तिम अवस्थामा पुगेको मीना सुनाउँछिन्।
‘उहाँले नै मलेसियामा दुःख गरेर पठाएको पैसाले भतिजालाई एक लाख खर्च गरेर त्यहाँ पठायौं, तर भतिजो गएको दुई दिनमै उहाँको मृत्यु भयो। उनको शरीरमा तातो रगतबाहेक अरू केही थिएन’, मीना भन्छिन्, ‘दुई वर्षको कार्यकाल सकेर आउनुभएको भए उहाँ आज हामीसँग हुनुहुन्थ्यो। कहिले कल्पना नगरेको घटना भयो।’
घरको छानो फेर्ने भनेर बिदेसिएका देवदत्त उतै अस्ताए। विदेश गएर पहिले घर बनाउने र छोरालाई उच्च शिक्षा दिने उनको ठुलो सपना रहेको मीना बताउँछिन्। ‘टिनको छानो टाल्न भनेर बिदेसिनुभएको थियो। न टिनको छानो टालियो न उहाँ नै रहनुभयो’, मीनाले नागरिकसँग भनिन्, ‘उहाँ पनि हुनुहुन्न। छानो पनि अझै चुहिन्छ। उहाँ गरिब परिवारमा हुर्कनुभएको हो। उहाँलाई सधैं दुःखले घेरेको थियो, सुख भन्ने थाहै छैन । अब सुखको दिन आउँछ कि भन्ने आशा थियो। त्यो पूरा नहुँदै उहाँ बित्नुभयो।’
उनले पुनः भनिन्, ‘मर्नेलाई केही बेर सास्ती होला, तर बाँच्नेलाई जिन्दगीभर गाह्रो। सानो छोरा छ। कमाउने मान्छे बित्नुभयो। विदेश जाँदा लागेको ऋण तिरेर घर खर्च गरी बाँकी केही पैसा थियो। त्यो पनि जेठाजुका छोरालाई मलेसिया पठाउँदा धेरै खर्च भयो। उहाँको काजकिरिया गर्दा उहाँले कमाएको सबै पैसा सकियो।’
उनका अनुसार आखिरमा त्यही पैसा कमाउन बिदेसिनुभएको थियो। त्यो पैसाले उहाँको ज्यान लियो । दैनिक १० भन्दा बढी पटक फोन गर्ने उहाँले कसरी मलाई छाडेर जानुभयो? पतिले आफूलाई धेरै माया गर्ने गरेको उनी बताउँछिन्। ‘हामीबिच दैनिक दशभन्दा बढी पटक भिडियो कल हुन्थ्यो। छिनछिनमा फोन गरेर के गर्दै छौ, के खायौ, आज तिमीलाई धेरै सम्झिरहेको छु। बाबु के गर्दै छ। यस्ता प्रश्न धेरै गर्नुहुन्थ्यो। धेरै बाँच्न लेखेकै रहेनछ उहाँलाई’, पतिले गरेको माया सम्झँदै सुँक्कसुँक्क गर्दै मीनाले भनिन्।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अंगभंग भएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता प्रदान गर्दछ।
यसका लागि श्रम स्वीकृति लिएको हुनुपर्ने र घटना भएको एक वर्षभित्र निवेदन दिनुपर्ने प्रावधान छ। बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारको मृत्यु भएमा हकवालालाई दिने सात लाख रुपैयाँको सहायता रकमलाई गत वर्षदेखि बढाएर १० लाख पुर्याएको छ।
यस क्रममा मीनाले पनि बोर्डबाट आर्थिक सहायताका नाममा १० लाख रुपैयाँ पाएकी छन्। उक्त पैसाले घरको छानो फेर्ने, छोरालाई पढाउने र घर खर्च चलाउने उनको सोच रहेको छ।
गरिब हुँदा धेरै दुःख पाइने उनको भोगाइ छ। ‘एकदमै कमजोर आर्थिक अवस्था छ। छोरालाई पढाउनै पर्यो। नुन–तेल किन्नै पर्यो। हाम्रो धेरै सम्पत्ति पनि छैन। बाबुबाजेको पालादेखि गरिबीले नछाडेको झन् अहिले सुख दिने भनेर बिदेसिएको उहाँको मृत्यु भयो’, पतिको सम्झनाले आँखाबाट आँसु झार्दै गरेकी मीनाले भनिन्।
मीना जस्तै वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा ज्यान गुमाउने पूर्वका अर्का ४४ वर्षीय पुरुष पनि छन्। परिवारको आर्थिक जिम्मेवारी बोकेका उनी दुई छोराछोरीको भविष्य बनाउने सपना बोकेर १२ वर्षदेखि साउदी अरेबियामै थिए। समयसमयमा घर आइरहने उनी ४५ दिनको छुट्टीपछि गत वैशाख १३ गते मात्रै साउदी अरेबिया फर्किएका हुन्। उनको गत जेठ १४ गते हृदयाघातका कारण निधन भयो।
उनका पत्नीका अनुसार मरेर गए बाँच्नेलाई धेरै गाह्रो छ। सामाजिक सञ्जालमा नाम नखुलाउने चाहनामा मनको पीडा सबै उनले खोलिन्। ‘घर आएर विदेश फर्किएको महिना दिन मात्रै भएको थियो। सुतेकै ठाउँमा कसरी उहाँको मृत्यु भयो थाहा छैन’, उनले टेलिफोनमार्फत नागरिकसँग भनिन्, ‘अघिल्लो दिन मात्रै राम्रै कुरा गरेको मान्छे एकाएक के भयो भयो। ठुली छोरी १४ वर्षकी भइन्। सानो छोरा सात वर्ष मात्रै भयो।’
उनीहरूको पालनपोषणसँगै अन्य कार्य पनि कसरी एक्लै अगाडि बढाउने भन्नेमा उनको ठुलो चिन्ता छ। उनले पनि मीनाले जस्तै बोर्डबाट आर्थिक सहायता भर्खरै पाएकी छन्।
बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार देशमा रोजगारीको अवसर नहुँदा बिदेसिनेको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ। विशेषगरी खाडी मुलुक र मलेसियामा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा नेपालीले काम गर्ने गरेको उनले बताए।
‘नेपालीहरू विदेशमा लगातार काम गर्छन्’, उनले भने, ‘पसिना धेरै आउँछ, तर पानी एकदम कम पिउने र अत्यधिक गर्मीमा बस्ने बानीले हृदयाघात बढी हुने गरेको छ। दिनभरि गर्मीमा काम गरेर बेलुका फेरि फ्यान लगाएको कोठामा सुत्छन्।’ जसले गर्दा सुतेको अवस्थामा मृत फेला पर्ने गरेको उप्रेती बताउँछन्।
रोजगारीको खोजीमा विदेशी भूमिमा पुगेका नेपाली दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन्। चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा मात्रै दुई सय ३८ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक हजार पाँच सय १७ जना युवाले विदेशी भूमिमा ज्यान गुमाए । यो संख्या अघिल्ला वर्षहरूमा भन्दा क्रमशः बढ्दो क्रममा छ। आव २०८०/८१ मा एक हजार तीन सय ७८ र आव २०७९/८० मा एक हजार दुई सय आठजनाले ज्यान गुमाएको बोर्डको तथ्यांक छ।
यो तथ्यांक केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको मात्र हो। अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड्ने हो भने यो आँकडा अझै भयावह हुने निश्चित छ, तर सरकारसँग त्यसको यकिन तथ्यांक छैन।
बोर्डका अनुसार मृत्युका प्रमुख कारणमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मुटुसम्बन्धी रोग, हृदयाघात, मिर्गौला फेल, क्यान्सर र आत्महत्या रहेका छन्। विशेषगरी खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीहरूमा सुतेकै अवस्थामा मृत्यु हुने (हृदयाघात वा प्राकृतिक कारण) र मिर्गौला समस्या बढी देखिएको छ।