वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

22 January, 2019

सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको  छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा पाउने छन् ।

यसअघि ५ सय डलर सम्मको वैदेशिक मुद्रा लिएर कामदार विदेशिन पाउँथे ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरसम्म मात्रै सटही सुविधा दिन भन्दै एक निर्देशन जारी गरेको छ । रोजगारीमा जानेका लागि २ सय डलर पर्याप्त हुने दावी राष्ट्र बैंकका अधिकारीहरुको छ ।

कामदार विदेश पुगेपछि उसको खर्च रोजगारदाता कम्पनीले गर्ने भएकाले ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिन नदिन यस्तो व्यवस्था गरिएको उनीहरु बताउँछन् ।

पछिल्लो सयममा सरकारको विदेशी मुद्राको सञ्चिति दयनीय अवस्थामा छ । मंसिरसम्मको तथ्यांकअनुासर सञ्चितिले ७.८ महिना मात्रै आयात धान्न सक्छ ।

सरकारले हाल वैदेशिक शिक्षाका लागि जानेहरुले प्रतिव्यक्ति १५ सय अमेरिकी डलर मात्रै लैजान पाउने व्यवस्था गरेको छ । कात्तिकसम्म २५ सय डलरससम्म लैजान पाइन्थ्यो ।

हाल कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा ३.३ प्रतिशतले कमी आई मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024