वैदेशिक रोजगारीबाट फर्किएकालाई सामग्री प्रदान

3 August, 2023

इलाम, साउन १७ गते । लामो सयम विदेशमा काम गरेर घर फर्किएका युवाहरुलाई इलाम नगरपालिकाले विभिन्न मेसिन तथा कृषि सामग्री प्रदान गरेको छ । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम अन्तर्गत गाउँघरमै व्यावसायिक बन्न सहयोग गर्ने उद्देश्यले ती सामग्री प्रदान गरेको हो ।

नगरपालिकाले ती व्यक्तिलाई गाईपालनका लागि घाँस काट्ने मेशिन (च्याप कटर) २५ थान, कुटानी पिसानी मेसिन दुई थान, जस्तापाता रड सिमेन्ट पाँच जनालाई, डिफ्रिज एक थान, कलर फोटोकपी मेसिन एक थान, काउम्याट तीन जनालाई, लुगा सिलाउने मेसिन एक जनालाई र प्लास्टिक नेटजाली एक जनालाई निःशुल्क प्रदान गरिएको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले बताउनुभयो ।

इलाम नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेअनुसार १९ लाख २५ हजार रुपियाँ बराबरको कृषि सामग्री प्रदान गरेको छ । सामग्री प्रदान गर्दै नगरप्रमुख केदार थापाले स्वदेशमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन आवश्यक रहेकाले युवालाई व्यावसायिक बन्न सहयोग गरिएको बताउनुभयो । नगरपालिकाले नगरक्षेत्रभित्रका ४० जनालाई सो सामग्री प्रदान गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024