वैदेशिक रोजगारीको भयावह रूप : ५ वर्षमा ४ हजार १ सय ५३ नेपालीको विदेशमा मृत्यु

19 December, 2019

हरेक दिन २ अर्ब रेमिट्यान्ससँगै दुईभन्दा बढी शव भित्रन्छ : ५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन्, तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ, २५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन, रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेका छन्

पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू शव बनेर फर्किएका हुन् । त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।

५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र, वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृत्यु हुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।

त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ ।

पाँच वर्षको अवधिमा यी ८ मुलकमा ४ हजार ९ जना कामदारले ज्यान गुमाएमा छन् । ती मुलुकबाट सरकारले २१ खर्ब ४६ अर्ब रुपैयाँ रेमिट्यान्स भिœयाएको छ ।

५ सय ४५ जना जेलमा २५ जनालाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारमध्ये ५ सय ४५ जना विदेशी जेलमा छन् । तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जेलमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृत्युदण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय भएको छ । त्यस्तै, २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइएको छ । त्यस्तै १९ जनालाई १० वर्षसम्मको र १ जनलाई ५ वर्षसम्मको सजाय दिइएको छ । ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय तोकिएको छ । २ सय ९३ जना कामदार फैसलाको पर्खाइमा छन्  ।

सबैभन्दा बढी मलेसियाको जेलमा

विदेशी जेलमा रहेका कामदारमध्ये सबैभन्दा बढी नेपाली मलेसियाको जेलमा २ सय ५ जना छन् । युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा ३५, साउदी अरबको जेद्दामा ३१, साउदी अरबकै रियादमा २३, बहराइनमा ५ र ओमानको जेलमा ३ जना कामदार छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये २४ जना कामदार विभिन्न मुलुकमा कोमामा नै छन् । जसमध्ये ३ जना महिला छन् । बोर्डको तथ्यांकअनुसार कुवेत, युएई, ओमन, साउदी अरब, कतार, बहराइन र जापानमा कामदार अचेत अवस्थामा छन् । तथ्यांकअनुसार कतारमा सबैभन्दा बढी ९ जना कोमामा छन् । साउदी अरब रियाद र बहराइनमा ४–४ जना कोमामा छन् । कुवेतमा ३, युएई, ओमान, साउदी अरब जेद्दा र जापानमा १–१ जना कोमामा छन् । कोमामा रहेकामध्ये १८ जना पूर्णरूपमा अचेत अवस्थामा छन् । २ जना अर्धचेतन अवस्थामा छन् । ४ जनाको अवस्था सुधार हुँदै गएको छ ।

३ सय ८८ कामदार हराए विदेशमै

वैदेशिक रोजगारीका लागि दैनिक करिब १ हजार ५ सय नेपाली बिदेसिन्छन् । तर, कति कामदार बेपत्ता भए भन्ने यकिन तथ्यांक कतै पनि छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग पनि यस्तो तथ्यांक छैन । प्रवासी नेपाली समन्वय समितिमा बेपत्ता भएका कामदारको खोजी गरिदिन भनेर ३ सय ८८ वटा निवेदन परेको छ । त्यही आधारमा ३ सय ८८ नेपाली कामदार हराइरहेको भन्न सकिन्छ । तीमध्ये ७५ महिला छन् । समितिको तथ्यांकअनुसार मलेसियामा २ सयजना कामदार हराएका छन् । साउदीमा ६७, कुवेतमा ४६, युएईमा २३, कतारमा २२ र अन्य मुलुकमा ३० जना कामदार हराएका छन् ।

श्रम मन्त्रालयका प्रवक्ता भन्छन्–विदेशमा मृत्यु हुनु सामान्य हो, हामी रोक्न सक्दैनौँ नारायण रेग्मी, प्रवक्ता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगारीमा जानेको तुलनामा मृत्युको संख्या असाध्यै कम हो । विदेशमा दुर्घटना हुनु र मृत्य हुनु सामान्य हो, त्यसलाई हामी रोक्न सक्दैनौँ । तैपनि नेपाली कामदारको के कारणले मृत्यु भइरहेको छ भन्ने विषयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अध्ययन गर्दै छ । कामदार जोखिममा पर्ने कारण पत्ता लगाएर समस्या समाधान गर्ने कोसिसमा छौँ ।

सरकारभन्दा एजेन्टलाई विश्वास गर्दा असुरक्षा बढ्यो सरु जोशी, वैदेशिक रोजगारविज्ञ

वैदेशिक रोजगारीमा बढ्दै गएको असुक्षाको मुख्य कारण चेतनाको अभावले हो । अझै पनि कामदारले सरकारलाई होइन, म्यानपावर कम्पनी र एजेन्टलाई नै विश्वास गर्छन् । सरकारले अझै पनि कामदारलाई विश्वस्त पार्न सकेको छैन । हुन त गएको दुई वर्षमा वैदेशिक रोजगारीको क्षेत्रमा धेरै सुधार भएका छन् । तर, अझै पनि मुलुकका सबै संयन्त्रबीच समन्वयको अभाव छ । यो क्षेत्रसँग श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, संघ, प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै सम्बन्ध हुन्छ । तर, नेपालमा यी निकायबीच समन्वयको अभाव छ । त्यसैले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने हो भने सबै निकायबीच समन्वय हुनुपर्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026