वैदेशिक रोजगारीको नाममा ठगी बढ्दै

8 January, 2026

Sabita Khadka

वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा दलाल र केही म्यानपावर कम्पनीको ठगीको सिकार बन्ने क्रम दिनदिनै बढ्दै गएको छ । रोजगारीको आश्वासन देखाएर लाखौँ रुपैयाँ असुल्ने तर न विदेश पठाउने, न त रकम फिर्ता गर्ने प्रवृत्तिले सयौँ युवाको जीवन सङ्कटमा परेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर सम्ममा मात्रै वैदेशिक रोजगारीका क्रममा २ हजार १६ जना ठगीका व्यक्तिगत उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । विभागमा दर्ता भएका उक्त उजुरीमध्ये १ सय ६६ वटा मुद्दा मिलापत्रमार्फत टुंगिएका छन् भने ६४ वटा मुद्दा अदालतमा दायर गरिएको छ । ठगीएका पीडितहरूले हालसम्म ६ करोड ५१ लाख ९० हजार रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाइसकेको विभागले जनाएको छ ।

नेपाली श्रमिक व्यक्तिगत र संस्थागत दुई माध्यमबाट वैदेशिक रोजगारीमा जान सक्ने प्रावधान छ। सरकारबाट सञ्चालन अनुमति पाएका म्यानपावर कम्पनीको माध्यमबाट जाने प्रक्रिया संस्थागत हो । यस अवधिमा संस्थागत तर्फका ४५० वटा ठगीका उजुरी परेका छन् । जुन संस्थागत उजुरी फस्र्योट भइसकेको विभागले जानकारी गराएको छ ।

तर उजुरीको संख्याले देखाएअनुसार ठगीका घटनाहरू नियन्त्रणमा आउन नसकेको सरोकारवालाहरू बताउँछन् । विदेश जानुपर्ने बाध्यताले गर्दा युवाहरू जोखिम मोलेर दलालको पछि लाग्न बाध्य भएका छन् । कानुनी प्रक्रिया झन्झटिलो, हातमा कुनै पनि प्रमाण नभएकाले, समय लाग्ने र खर्चिलो भएकाले धेरै पीडित उजुरी नै नगरी चुप लाग्ने अवस्था पनि रहेको छ ।

पीडितहरू दिनदिनै थपिँदै जाँदा वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र भरोसायोग्य बनाउने सवाल फेरि गम्भीर बनेको छ । सरोकारवालाहरूले दलाल नियन्त्रण, म्यानपावर अनुगमन कडा बनाउने र पीडितलाई छिटो न्याय दिलाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीका अनुसार विगतका वर्षहरूमा बिदेसिने नेपालीको संख्या बढेसँगै ठगीका उजुरीमा पनि वृद्धि देखिएको छ । पछिल्लो समय विकसित मुलुकहरूमा लैजाने भन्दै दलालले पैसा ठगेर भागेका उजुरी आउने क्रम बढिरहेको छ । विभागमा ठगीमा परियो भन्दै पीडित आउनेको सङ्ख्या कम छैन । सबै भन्दा बढी एजेन्टहरू र बिचौलियाबाट हुने ठगी प्रमुख रहेका छन् । जसलाई नियन्त्रण गर्न विभागले प्रयास गरिरहेको छ ।

‘विभागमा ठगीका उजुरी तीव्र रूपमा बढिरहेको छ,’ नागरिकसँग उनले भने, ‘विदेशमा जानेको संख्या बढेसँगै ठगीका उजुरीहरूले पनि उग्र रूप लिएको छ । पहिले युएई, कतार र साउदीमा जाने भन्दै ठगीमा परेको घटना बढी हुन्थ्यो भने अहिले युरोपेली मुलुकका लागि लाखौँ लाख पैसा डुबाएको पीडितहरू विभाग धाउने गरेका छन् ।’ मुख्यतया गैर कानुनी बिचौलिया र एजेन्टहरूले आकर्षक प्रलोभन देखाएर ठगी गर्ने, विदेश पठाउने नाममा रकम असुल्ने जस्ता उजुरीहरू विभागमा पर्ने गरेको उनले बताए ।

‘हामीले ठगी नियन्त्रण गर्ने र श्रमिकको हकहितको लागि काम गरिरहेका छौँ । तर दैनिक सयौँ उजुरी आउने हुँदा व्यवस्थापन चुनौतीपूर्ण छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै गरिएको ठगीको प्रमाण पीडितको हातमा भए मात्रै विभागमा उजुरी दर्ता हुन्छ । यदि वैदेशिक रोजगार सम्बन्धी कुनै पनि प्रमाण पीडितको हातमा नभएको अवस्थामा विभागले उजुरी लिने गरेको छैन ।

‘ठगीका उजुरी हेर्दा हरेक वर्ष बढेको छ । रोजगारीका सपना देखेर विदेश जान लागेका युवाहरू ठगीमा परिरहेका छन्’, उनले भने, ‘अहिले म्यानपावर कम्पनी भन्दा पनि व्यक्तिबाट ठगिने घटनाहरू धेरै छन् ।’

पछिल्लो समय युवाहरूको आकर्षक श्रम गन्तव्य युरोपेली मुलुकहरू बनिरहेका छन् । विभागमा परेका उजुरीहरू हेर्दा धेरैजसो ठगी युरोप पठाउने नाममा भइरहेका छन् । युरोपका पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, क्रोएसिया, युके, ग्रिस लगायत देशमा पठाउने नाममा ठगी भइरहेको छन् । त्यसबाहेक क्यानडा, अमेरिका, बेलायत जस्ता मुलुकहरूमा पठाउने नाममा भइरहेको विभागका अधिकारीहरू बताउँछन् ।

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालका अनुसार वैदेशिक रोजगारीमा युवाहरू ठगिनु चिन्ताको विषय हो । ‘पूर्वी युरोपका मुलुकहरूमा राम्रो कमाइ हुने लोभ देखाइन्छ’, उनले नागरिकसँग भने, ‘युवाहरू पनि सजिलै विश्वासमा परेर मागे जति रकम ऋण नै गरेर भए पनि बुझाउन तयार हुन्छन् ।’ गन्तव्यमा युवाहरूको आकर्षणलाई बुझेर युरोपमा नेपाली श्रमिक जान पाउने बाटो खुला गर्न सरकारले नीतिगत निर्णय गर्नुपर्ने उनको माग छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले ठगी संस्थागत रूपमा भन्दा व्यक्तिगत रूपमा बढेको बताउँछन् । ‘पहिले पहिले म्यानपावर कम्पनीका ठगीका घटना हुन्थे’, उनले भने, ‘अहिले त्यो व्यक्तिगत रूपमा भइरहेको छ ।’ खास गरी सामाजिक सञ्जालमा मार्फत प्रलोभनमा परेर ठगिने धेरै भएको उनले बताए ।

बितेको ६ वर्ष ५ महिनामा वैदेशिक रोजगारीमा ठगीका उजुरी व्यापक रूपले मौलाएको सरकारी तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार आव ०७६/७७ देखि चालु आर्थिक वर्ष ०८२/८३ को मंसिरसम्ममा २३ हजार ५५२ वटा ठगीका उजुरी दर्ता भएका छन् । त्यस्तै तथ्याङ्कअनुसार आव ०७६/७७ मा १ हजार २५५ वटा उजुरी विभागमा परेका थिए । आव ०७७/७८ मा ७ सय ८० वटा उजुरी, आव ०७८/७९ मा १ हजार ७४२ उजुरी, आव ०७९/८० मा ४ हजार ४६४ उजुरी, आव ०८०/८१ मा ७ हजार ६६३ उजुरी र गत आव ०८१/८२ मा ५ हजार ६३२ वटा उजुरी र चालु आर्थिक वर्ष ०८२/८३ को साउन देखि मंसिरसम्ममा २ हजार १६ वटा उजुरी परेको विभागको तथ्याकंले देखाएको छ ।

विभागले हालै जारी गरेको विज्ञप्ति अनुसार कानुन विपरीत अनधिकृत संस्था/व्यक्तिमार्फत श्रम स्वीकृति नलिई, अर्को देशको विमानस्थल प्रयोग गरी, गलत सूचना प्रवाह गर्दै भ्रम सिर्जना गरेर विदेश पठाउने/जाने कार्य गैर कानुनी हो । यसरी वैदेशिक रोजगारीमा जाँदा श्रमिक विभिन्न जोखिममा पर्न सक्ने, मानव तस्करी, श्रम शोषण र दुव्र्यवहारको खतरा झनै बढ्ने गरेको छ ।

वैदेशिक रोजगारी सुरक्षित मर्यादित र भरपर्दो बनाउन वैदेशिक रोजगार ऐन २०६४ ले तोके बमोजिम तालिम/ओरिएन्टेसन, बिमा, सामाजिक सुरक्षा र स्वास्थ्य जाँचसमेत अनिवार्य गरेर विभागबाट श्रम स्वीकृति लिएर मात्रै जान अनुरोध गरेको छ । त्यसरी जाँदा नेपालकै विमानस्थल प्रयोग गरेर जान अनुरोध गरेको छ । गैरकानुन जाने वा पठाउने वा सामाजिक सञ्जालमा जथाभाबी विज्ञापन गर्ने जो कोहीलाई विभागबाट अनुगमन एवं अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

कुनै पनि संस्था वा व्यक्तिले सामाजिक सञ्जालबाट अनधिकृत तवरले वैदेशिक रोजगारीका लागि गरेका प्रचार र सूचनाको आधिकारिकता सम्बन्धमा सरकारी निकायबाट जाँच गरी अनलाइन श्रम स्वीकृति भएपछि मात्र आर्थिक कारोबार गर्नसमेत विभागले अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024