वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको आवेदन ७५३ वटै स्थानीय तहबाट दिन सकिने

31 March, 2023

अब वैदेशिक रोजगारीका लागि व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने भएको छ। आगामी वैशाख १ गतेदेखि ७५३ वटै पालिकाबाट आवेदन दिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ।

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। त्यसका लागि बिहीबार श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेका हुन्।

अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ। त्यसका लागि वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए।

यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो। त्यसपछि पनि श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थियो। सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले यो निर्णय गरेको श्रम सचिव एकनारायण अर्यालले बताए।

सचिव अर्यालले पछिल्लो समय वैदेशिक रोजगार सम्बन्धी सेवालाई प्रविधिमैत्री तथा सहज बनाउँदै लगेका छन्।

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024