वैदेशिक रोजगारीका लागि प्रदेशबाटै श्रम स्वीकृति

26 October, 2018

सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ। यससँगै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाटै सेवा उपलब्ध गराउन लागिएको जानकारी दिए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाले मंसिरदेखि आफ्नै प्रदेशबाट सम्पूर्ण सेवा पाउनेछन्।’

वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको हो। वैदेशिक रोजगारका सबै काम प्रदेशबाटै हुने भएपछि वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार काठमाडौं कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयको काम पनि घट्नेछ।

वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजार पाँच सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। उनीहरूलाई हाल वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले श्रम स्वीकृति दिँदै आएको छ। विभागले वैदेशिक रोजगार पीडितको उजुरी लिने र अनुसन्धान गरी पीडकलाई कारबाही गर्ने गर्दछ। अब प्रदेश कार्यालयबाटै श्रम स्वीकृति दिनुका साथै वैदेशिक रोजगार पीडितको उजुरी दर्ता र अनुसन्धानको काम पनि हुने सचिव दाहालले जानकारी दिए।

प्रत्येक प्रदेश राजधानीमा श्रम कार्यालय स्थापना भइसकेका छन्। ती कार्यालय अन्तर्गत वैदेशिक रोजगार इकाइ रहनेछन्। प्रदेशमा रहेका श्रम कार्यालयका वैदेशिक रोजगार इकाइले डिमान्ट लेटर, पूर्व स्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी सुन्‍नेलगायत काम गर्नेछन्। यस्तै प्रदेश कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्नेछन्।

प्रदेश ३ मा काठमाडौंको ताहाचलमा कार्यालय भएकाले अन्य प्रदेशमा मात्रै इकाइ रहनेछन्। प्रदेश कार्यालयमा अधिकृतको नेतृत्वमा कम्प्युटर अपरेटर, सुब्बा, सहायकलगायत गरी कम्तीमा ६ जनासम्म कर्मचारी रहने गरी मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ। ती कार्यालयमा तिहारपछि कर्मचारी जान सुरु गर्नेछन्।

मंसिर मसान्तसम्म सबै प्रदेश कार्यालय व्यवस्थापन भइसक्ने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार विभागमा अत्यधिक भीड लाग्न थालेपछि सरकारले २०७० मंसिर २६ गते ताहाचलमा वैदेशिक रोजगार काठमाडौं कार्यालयसहित मलेसिया, साउदी र कतार शाखा कार्यालय स्थापना गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024