वैदेशिक रोजगारीका क्रममा झापाका १९५ को मृत्यु

16 June, 2025

पार्थ मण्डल

झापा : झापा जिल्लाबाट पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारी गएकामध्ये १ सय ९५ जनाको मृत्यु भएको छ। रोजगारीको क्रममा अंगभंग भएर ७८ जना स्वदेश फर्किएका छन्। भद्रपुर नगरपालिकामा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशमध्येबाट सबैभन्दा बढी मृत्यु हुने झापा जिल्लाबाट रहेको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए।

विभागको तथ्यांकअनुसार झापामा चालु आर्थिक वर्ष ०८१/८२ जेठ २५ गतेमा ७१ जना, आर्थिक वर्ष ०८०/८१ मा ८० र आर्थिक वर्ष ०८१/८२ मा ४४ जनाको मृत्यु भएको संयोजक बुढाथोकीले बताए। झापापछि सबैभन्दा बढी मृत्यु हुने जिल्लामा मोरङ र सुनसरी रहेका छन्। तीन वर्षको अवधिका मोरङमा १ सय ४६ र सुनसरीमा १ सय ४१ जनाको मृत्यु भएको उनले बताए।

त्यसैगरी वैधानिक बाटो भएर झापाबाट वैदेशिक रोजगारमा जाने महिलाको संख्या देशभरकै अग्रस्थानमा रहेको छ। चालु आर्थिक वर्षमा मात्रै ६ हजार ६ सय ६६ जना महिला विदेश गएका छन्। देशभरका जिल्लाहरूमध्ये झापाबाट १९.५ प्रतिशत महिला विदेश गएका छन, जुन सबैभन्दा धेरै हो।

यस जिल्लाबाट खाडी मुलुकतर्फ महिला श्रमिक बढी गएको देखिन्छ। पछिल्लो समय युरोप, अमेरिका र अस्ट्रेलिया जाने पनि बढेको छ। विदेश गएकामध्ये धेरैजसो महिला ठगी र शोषणको चपेटामा पर्ने गरेको सीमाको तथ्यांकमा उल्लेख छ। सामी कार्यक्रममार्फत सूचनामा पहुँच, सीप तालिम, मनोसामाजिक परामर्श तथा न्यायमा पहुँचजस्ता सेवाहरू प्रदान गर्दै वैदेशिक रोजगारमा जानेहरूलाई ससक्र बनाउने प्रयास संयोजक बुढाथोकीले बताए। विगत पाँचको तथ्यांकअनुसार जिल्लामा मात्र ३ सय ३ जना ठगीमा परेकामध्ये १ सय ४१ जनालाई ३ करोड ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको र १ सय ५१ जना अझै प्रक्रियामा रहेको उनले बताए। चालु आर्थिक वर्षमा पाँच जना व्यक्तिलाई पारिवारिक स्वास्थ्य उपचार, दुई जनाको अंगभंग तथा बिरामी उपचार, दुई जनालाई मृत्युको आर्थिक सहायता र २ सय ७१ जनालाई पुनः श्रम स्वीकृति प्रदान गरिएको उनको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024