वैदेशिक रोजगारबारे श्वेतपत्र जारी गर्न कांग्रेसको माग

18 Dec, 2019

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न सरकारसंग माग गरेको छ । कांग्रेसले वैदेशिक रोजगार क्षेत्रका समस्याहरूको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउनसमेत सरकारलाई आहृवान गरेको छ ।

छायाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिला संग्रौलाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले युएई, मलेसिया, जापान मरिससलगायतका श्रम गन्तब्य मुलुकसँग श्रम सम्झौता, सम्झदारी, सहमती गरेपनि कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाइन ।

जापानसँग सम्झदारी गरेपनि भाषा परीक्षा र सिप परीक्षणका प्रक्रिया झन्झटिला भएकाले सोचेअनुरुप नेपाली रोजगारीमा जान नसकेको उनले बताइन । श्रम स्वीकृती लिन प्रदेशस्तरमा सेवा विस्तार गरेपनि प्रक्रियागत झन्झटका विषयमा मन्त्रालयले सहजिकरण गर्न नसकेको संग्रौलाले आरोप लगाइन ।

सामाजिक सुरक्षा योजनामा हालसम्म १ लाख २५ हजार श्रमिक र ११ हजार रोजगारदाता सामेल हुने बाहेक अन्य रोजगारदाता र श्रमिकलाई ल्याउने पहल मन्त्रालयले गर्न नसकेको आरोप कांग्रेसको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक वर्षको मध्यसम्म पनि रोजगारी सिर्जना र बेरोजगारका लागि नयाँ कार्यक्रम ल्याउन नसकेको संग्रौलाले बताइन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024