विदेश पढ्न जानेको संख्या दुई वर्षमै दोब्बर, अष्ट्रेलियामा धेरै

20 May, 2018

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या गत दुई वर्षको बीचमा दोब्बर वृद्धि भएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को हालसम्मको अवधिमा मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि ६१ हजार ३५१ विद्यार्थीले स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् ।

 

आव २०७२/७३ मा यसको झण्डै आधा संख्या अर्थात् ३२ हजार ४८९ ले विदेशमा उच्च शिक्षाका लागि स्वीकृति लिएका थिए ।आव २०७३/७४ मा यो संख्या बढेर ५० हजार ६५९ पुगेकोमा चालु आवको दुई महिना बाँकी रहँदै थप वृद्धि भई ६० हजारभन्दा बढीले स्वीकृतिपत्र लिएको देखिएको छ ।

 

केशरमहलस्थित सो शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडलका अनुसार आइतबार दिउँसो ३ बजेसम्म २७५ जनाले स्वीकृतिपत्र लिएका छन् । यो संख्या दैनिक सरदर २०० को हाराहारीमा हुने गरेको छ ।

 

स्वीकृतिपत्र नलिई विदेश पढ्न जाने विद्यार्थीको संख्या सरकारी अभिलेखमा देखिँदैन । छिमेकी भारतमा उच्च शिक्षा पढ्न जाने कतिपय विद्यार्थीले स्वीकृति पत्र नलिई पनि जाने गर्दछन् ।

 

उच्च शिक्षा अध्ययनका लागि यो वर्ष पनि अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइमा परेको देखिन्छ । चालु २०७४ साउन २ गतेदेखि २०७५ जेठ ४ गतेसम्मको विवरणअनुसार सो मुलुक जान ३२ हजार २३६ ले स्वीकृतिपत्र लिएका छन् ।

 

यस्तै सो अवधिमा जापानका लागि ११ हजार ९४, संयुक्त राज्य अमेरिकाका लागि दुई हजार ४५८, चीनका लागि एक हजार ९९६, भारतका लागि एक हजार ९७०, पोल्याण्डका लागि एक हजार ४३२, क्यानडाका लागि एक हजार १८६ र दक्षिण कोरियाका लागि एक हजार ८६ ले स्वीकृतिपत्र लिएका छन् । रोमानिया, भियतनाम, युक्रेन, आइसल्याण्डजस्ता मुलुकका लागि एक दुई जनाले मात्र अध्ययन स्वीकृति पत्र लिएका छन् ।

 

प्रमुख उपाध्यायले अध्ययन स्वीकृतिपत्रका लागि सरलीकृत र छिटोछरितो गर्न आवश्यक सबै कागजात पेस भएको आधा घण्टाभित्र स्वीकृति दिने गरी प्रबन्ध गरिएको जानकारी दिए । विगतमा मध्याह्न साढे १२ बजेपछि मात्र स्वीकृति दिने गरिएकामा सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर छिटोछरितो नीति लिइएको उनले बताए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024