विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

13 September, 2024

वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु. २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका– ७ घर भई हाल काठमाडौं महानगरपालिका– ९ सिनामंगल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका– ११ घर भई काठमाडौं सिनामंगल बस्ने ३६ वर्षीय सल्लउद्दिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका– ८ घर भई हाल बुढानीलकण्ठ नगरपालिका– ८ हात्तीगौँडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये सिंहले दुईजनालाई दुबई पठाउने भन्दै रु. आठ लाख ४० हजार, वेगले दुईजनालाई कुवेत पठाउने भन्दै रु. सात लाख २० हजार तथा दाहालले तीनजनालाई क्रोएसिया पठाउने भन्दै रु. आठ लाख २५ हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024