आजभोलि धेरैजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायित हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाउँदै छन्। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले राम्रो आम्दानी पनि गरिरहेको छ।
तिम्सिनाको दैनिकी आजभोलि पहिलेभन्दा केही फरक छ। बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ। बीस रोपनी क्षेत्रफलमा लगाइएको गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ।
‘आजभोलि पहिलेभन्दा धेरै काम गर्नुपर्छ। अरु बेला काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन,’ तिम्सिनाले भने, ‘गाउँघरमा कामले भने कहिल्यै छाड्दैन।’
तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्छ। यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्दकीमा लिइएको हो। यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ। दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ। ‘पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौं,’ २७ वर्षका कमलले भने, ‘सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौं।’
तिम्सिना परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो। मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो। एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्छ। एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ। एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुन्छ।
अहिले व्यवसायीहरूले प्रतिकिलो रु २० मा गोलभेँडा खरिद गर्छन्। तर १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो दुई रुपैयाँ ५० पैसा मूल्य पायो त कहिले रु ७० सम्म। ती सबै अनुभव यो परिवारसँग छ। ‘गोलभेँडालाई रु २० वा त्योभन्दा बढी दाम आयो भने घाटा लाग्दैन,’ तिम्सिनाले भने, ‘रु ३० भन्दा बढी मूल्यमा बिकेको समयमा राम्रो आम्दानी र बचत हुन्छ।’
गोलभेँडाको मूल्य बजारमा कहिले माथि हुन्छ भने कहिले निकै कम। तर कहिल्यै हिम्मत नहारी तिम्सिना परिवारले खेती गरिरहेको छ। ‘मूल्य कम भए पनि हामीलाई ठीकै छ गोलभेँडाबाट, हामी सन्तुष्ट छौं,’ कमलले भने। यस वर्ष तिम्सिना परिवारले रु आठ हजार खुर्सानी र छ हजार गोलभेँडाका बिरुवा लगाएको छ। खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी भइरहेको कमल सुनाउँछन्।
यहाँ गोलभेँडा फागुन, चैत र भदौमा गरी दुईपटक लगाइन्छ। गोलभेँडामा सामान्य विषादी लगाइन्छ। रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गरिन्छ।
उत्पादन भएको कृषि उपज सस्तो मूल्यमा भए पनि बिक्री भइरहेको छ। यहाँ गोलभेँडा, खुर्सानीलगायत कृषि उपज उत्पादन गर्ने किसानहरूले प्रायः एकै व्यवसायीलाई आफ्ना उत्पादन बिक्री गर्छन्। जसले गर्दा कम मूल्य भए पनि उत्पादित सामग्री उठ्छ।
कमलले विदेश जाने कुरा नसोचेका भने होइनन्। तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो। ‘विदेश जानचाहिँ खोजेको थिएँ। तर पछि मन लागेन। लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ,’ कमलले भने, ‘गाउँमा पनि आम्दानी ठीकै थियो, परिवारसँगै बसेर केही आम्दानी भइरहेछ भने किन विदेश जाने भन्ने लाग्यो।’
कमलकी आमा टीकादेवी तिम्सिना छोरा विदेश नगई गाउँमै खेती गरिरहेकामा खुसी छन्। ‘विदेश गए पनि दुःख उत्तिकै गर्नुपर्छ होला भन्ने लाग्छ। विदेश जाँदा पैसा अलि बचत हुन्थ्यो होला,’ टीकादेवीले भनिन्, ‘यहाँ जति आम्दानी भए पनि बचाउन मुस्किल पर्छ। तर घरमै बसेर पनि केही आम्दानी त भइरहेकै छ।’
यो क्षेत्रका सबैले सब्जी खेती गर्छन्। प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्छ। किसानले राम्रो उत्पादन गरे पनि कृषि उपजले मूल्य नपाउँदा बेलाबखत निराश हुने गरेको कमलका छिमेकी दिलबहादुर राई बताउँछन्।
गत वर्ष रु एक सय ३० प्रतिकिलो बिक्री गरेको खुर्सानी अहिले प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ। खुर्सानी टिप्ने कामदारले एक दिनमा ४० किलो खुर्सानी टिप्छन्। कामदारलाई दैनिक रु पाँच सय ज्याला दिनुपर्छ। ‘अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति छ,’ कमलले भने, ‘गोजीको पैसा लगाएर भए पनि बारीमा लगाएको खुर्सानी खेर जान दिनु भएन। बजारमा पठाउनु त पर्छ नै। अहिले किसानलाई गाह्रो छ।’ रासस