विदेश जाने युवालाई उत्साहित गर्दै प्रदेश २ सरकार

31 January, 2020

प्रदेश २ सरकारको समन्वयमा वैदेशिक रोजगारीका लागि जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन सुरु गरेको छ । प्रदेश सरकार, सिप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जाने युवाहरुलाई विना धिताे सहुलियत ऋण उपलब्ध गराउने सम्झौताअनुसार बिहीबारदेखि युवाहरुले ऋण पाउने भएका हुन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको अारम्भ गरेका छन् । कार्यक्रममा प्रदेश २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन् ।

‘प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा सुरु भएको सहुलियत ऋणले साहुसँग शिर झुकाउन पर्ने बाध्यता हट्नेछ,’ मुख्यमनत्री राउतले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि हामीले सिप सिकाउने व्यवस्था पनि मिलाएका छौँ, यसले विगतमा युवाहरुले भोग्दै आएको समसया कम हुने छ ।’

यसअघि एसबिआई बैंकले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई विना धितो ऋण दिने गरेकाे थियाे । प्रभु बैंकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन् भने सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसँग गरेकाे छ ।

यस योजनाअन्तर्गत वैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाएपछि बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटोसहित निवेदन दिनु पर्ने छ । त्यसलगत्तै बैंकले रोजगारीमा जाने व्यक्तिको नाममा बचत खाता खोलेर पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान रहेकाे छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024