विदेशमा रहेका नेपाली ल्याउने तयारी

5 May, 2020

सीता शर्मा 

काठमाडौँ, वैशाख २३ गते । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उहाँहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ । ’’

उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण भई नेपाल सुरक्षित भयो भन्ने अवस्थापछि मात्र फिर्ता ल्याउने काम सुरु गरिने बताउनुभयो । कुवेतमा मात्रै सात हजार नेपाली श्रमिक अवैधानिक रूपमा रहेको बताउँदै मन्त्री ज्ञवालीले ती नागरिकलाई स्वदेश फर्काउने विषयमा तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले विभिन्न देशमा रहेका नेपाली दूतावासलाई २४सै घन्टा सम्पर्कमा रहन निर्देशन दिइएको पनि जानकारी गराउनुभयो । मन्त्री ज्ञवालीले विदेशबाट तत्काल ३० देखि ३५ हजार नेपालीलाई उद्धार गर्नुपर्ने भयो भने ल्याउनेदेखि सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने र घरसम्म पु¥याउने व्यवस्था गर्नुपर्ने हुन्छ । उहाँले स्वदेश ल्याउनुअघि तयारी गर्न केही समय लाग्न सक्ने बताउनुभयो । 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024