विदेशमा रहेकाको सहयोगमा शिक्षकलाई तलब

22 April, 2015

घनश्याम गौतम

यहाँको एक विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब दिन समस्या परेपछि वैदेशिक रोजगारीमा रहेका युवाले सहयोग गर्न थालेका छन्। दर्लामचौरको आलम देउराली प्राविका तीन जना शिक्षकले एक वर्षदेखि पारिश्रमिक नपाएपछि अभिभावकको आग्रहमा विदेश बस्दै आएका युवाले तलब उपलब्ध गराउन थालेका हुन्। गाउँबाट रोजगारीका लागि विभिन्न देशमा पुगेकाहरूलाई सहयोग गर्न आग्रह गरिएको प्रधानाध्यापक डालिमा कुँवरले बताइन्। ‘शिक्षा कार्यालयले दरबन्दी नदिएपछि निजी स्रोतबाट तीन जना शिक्षक राखेका थियौं,’ व्यवस्थापन समिति अध्यक्ष रामेश्वर खत्रीले भने, ‘स्रोतको कुनै उपाय नभएपछि कतारमा काम गर्दै रहेका युवालाई आग्रह गरेका हौं।’ यस वर्ष उनीहरूले ७० हजार रुपैयाँ पठाएका छन्। त्यसैबाट तलब खुवाइएको उनले बताए।

विद्यालयका अनुसार कतारमा रहेका दर्लामचौर ४ का बाबुराम महत, यमबहादुर महत, ज्योति कुँवर, रोशन कुँवर, ढालबहादुर महत, रञ्जित कुँवर, गोकुल पाण्डे, मोती अधिकारी, गणेश पाण्डे, विक्रम अधिकारी, हस्तिचौर २ का प्रेमबहादुर कुँवर र कतारस्थित अकुपाम संघमार्फत ७० हजार सहयोग आएको हो। त्यस्तै दुबईमा कार्यरत द्रोणबहादुर कुँवर र कमल घिमिरेले ८ हजार ६ सय रुपैयाँ, बहराइनमा कार्यरत पिपलधाराका असिम महतले १० हजार १ सय, हस्तिचौर १ का पूर्वप्रहरी नायब निरीक्षक लोकबहादुर कुँवरले १० हजार रुपैयाँ र बुटवलको सिंगापुर होटल सञ्चालक तिलक महतले ११ हजार रुपैयाँ विद्यालयलाई सहयोग दिएका छन्।

दुर्गम स्थानमा रहेको यस विद्यालयमा १ सय ५० विद्यार्थी छन्। शिक्षा कार्यालयसँग पटकपटक माग गर्दा दरबन्दी नपाएकाले निजी स्रोतबाटै स्कुल चलाउनुपरेको स्थानीय इन्द्रबहादुर कुँवरले बताए। ‘केही स्रोत नभएपछि विदेश पुगेकालाई अनुरोध गरेका हौं,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026