विदेशमा अलपत्र नेपाली फर्काइँदै: आज बङ्गलादेशबाट ल्याइने

14 June, 2020

विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन्।

नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ। नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३० बजे ढाका उडेको छ भने उताबाट दिउँसो २:३० बजे काठमाडौं अवतरण गर्नेछ। निगमका प्रवक्ता अर्चना खड्काले विदेशमा अलपत्र नेपालीलाई निगमका जहाजले आजदेखि स्वदेश ल्याउन सुरू गर्ने जानकारी दिइन्।

नेपाली लिन विभिन्न मुलुकका गन्तव्य पुग्ने निगमका जहाज यताबाट प्रायः रित्तै जानेछन्। तथापि निगमका जहाज जाने गन्तव्यमा यात्रु जान चाहे लगिदिनेछ। निगमका प्रवक्ता खड्काले नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित मुलुकको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको बताइन्।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन्। 

निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेछ। त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ। जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ। हिमालय एयरलाइन्सले पनि बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026