विदेशबाट फर्केका युवा उद्यमी बन्दै

30 January, 2019

नवीनराज कुइँकेल

म्याग्दीका राजेन्द्र श्रेष्ठ ६ वर्षपछि अष्ट्रेलियाको बसाई छोडेर स्वदेश फर्किए। बाग्लुङका कृष्ण गर्वुजा पुन पनि पाँच वर्षदेखिको कोरियाको रोजगारी छोडेर नेपाल आए। लमजुङका संविधानसभा सदस्य बुद्धीराम तमुसँग उनीहरुको भेट भयो, र योजना बन्यो अब विदेश नजाने स्वदेशमै उद्यम गर्ने।

विदेशको रोजगारी छोडेर स्वदेश फर्किएका र विदेशमै श्रम गरिरहेका मिलेर लमजुङमा व्यवसायिक कृषि उद्यम सुरु गरेका छन्। लिपे मल्टिपल एग्रीकल्चर प्रा.लि. फार्म दर्ता गरी उनीहरुले दोर्दी गाउँपालका-३ लामाबगर र मस्र्याङ्दी गाउँपालिका-९ लामागाउँमा व्यवसायिक कृषि उद्यम सुरु गरेका हुन्।

उनीहरुले दोर्दीको लामाबगरमा ५ सय उन्नत जातका बाख्रा पाल्ने योजनाका साथ काम अघि बढाएका छन्। बाख्रा पालनका लागि ७५ रोपनी जमिन खरिद गरेर आधुनिक खोर निर्माण, घाँसखेती सुरु गरिएको लिपे मल्टिपल एग्रीकल्चर प्रा.लि.का अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।

सोही कम्पनीले मस्र्याङ्दी गाउँपालिकाको लामागाउँमा १ सय ५० रोपनी जमिन भाडामा लिएर कागती खेती, माछापालन, कुखुरा पालनलगायतले काम अघि बढाएका छन्। यो वर्ष ५ हजार कागतीका बोट रोप्ने उनीहरुको योजना छ।

‘१६ जना युवाहरु मिलेर व्यवसायिक कृषि उद्यममा लागेका छौ,’ श्रेष्ठले भने, ‘कृषि र पशुपालनमा व्यवसायिकरण गरी परनिर्भररता हटाउने हाम्रो उदेश्य हो।’ उनका अनुसार उद्यममा सहभागी ८ जना युवाहरु अझै विदेशमै श्रम गरिरहेका छन्। ‘एकजना अमेरिका, एकजना जापान, ६ जान कोरियामा श्रम गरिरहेका छन्’, लिपे मल्टिपल एग्रीकल्चर प्रा.लि. कोषाध्यक्ष कृष्ण गर्वुजा पुनले भने, ‘यहाँ व्यवसाय द्रुत रुपमा अघि बढेपछि उनीहरु पनि यहीँ काम गर्न आउँछन्।’

नेकपाका नेता एवं संविधान सभा सदस्य बुद्धीराम तमुले सरकारको कृषि उत्पादन बढाएर आत्मनिर्भर बनाउने योजनामा आफुँहरुले इट्टा थप्न लागेको बताए। तमुकाअनुसार लमजुङसहित कास्की, म्याग्दी, बाग्लुङ, गुल्मीका युवाहरु उद्योगमा सहभागी छन्। लमजुङका प्रेम गुरुङ अमेरिका, म्याग्दीका लिला पुन कोरिया, गुल्मीका सुदर श्रेष्ठले जापानबाट युवाहरुसंग सहकार्य गरेर रकम पठाएका छन्। बाख्रा, कागती, माछा, कुखुरा पालनका लागि ५ करोड लगानी गर्ने योजना रहेको उनीहले बताए।

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले कृषि र पशुपालनमा व्यवसायिककरण गर्न सके स्वदेशमै रोजगारी र आम्दानी बढाउन सकिने बताए। गाउँपालिकामा हुन लागेको कृषि व्यवसायमा स्थानीय सरकार हातेमालो गर्न तयार रहेको बताए। बाख्रा अनुसन्धान केन्द्र बन्दीपुर तनहुँका प्रमुख राजु कंडेलले उन्नत जातका बाख्रा पालनमा आफुँहरु सहयोग गर्न तयार रहेको बताए। ‘बाख्रा फार्म भएको भुगोल र हावापानी साह्रै राम्रो छ। घाँसपनि पर्याप्त छ’, कंडेलले भने, ‘उहाँहरुको मिहेनत खेर जाँदैन।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024