रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो ।
तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो । आठ वर्षअघि सुरु गरेको घुम्तीगोठमा बाख्रापालन व्यवसायले उनलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाएको हो ।
‘विदेशबाट फर्किनुपर्दा घरव्यवहार चलाउने खर्च कसरी जुटाउने भनेर पिरोलिएको थिएँ,’ उनले भने, ‘घुम्तीगोठमा बाख्रापालन सुरु गरेपछि रोजगारी र घरव्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।’
भीमले बुबा लालबहादुर भण्डारीले पितापुर्खाको पालादेखि नै गर्दै आएको बाख्रापाल्ने पेसालाई व्यवस्थित गरेर निरन्तरता दिएका हुन् । ५० वटाबाट सुरु भएको भीमको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् । उनलाई बाख्रापालनमा श्रीमती विपनाले साथ दिएकी छन् ।