विदेशबाट फर्किएका पीडित महिलालाई सहयोग गर्ने संघसंस्थालाई सरकारले सम्मान गर्ने

11 Jul, 2020

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरूलाई सहयोग गर्ने संघ, संस्थाहरूलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन्।

मन्त्री गुरुङले कोरोना भाइरसका कारण विदेशबाट फर्किएका महिलाहरूको पीडालाई सम्बोधन हुनेगरी सहयोग गर्ने संघ, संस्थाहरूलाई सरकारले पुरस्कार सहितको सम्मान गर्ने बताएका हुन्।

गैर-आवासीय नेपाली संघ, युकेद्वारा शनिबार (आज) आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरूमा पारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकमा बोल्दै उनले कोरोना भाइरसका कारण स्वदेश फर्किएका महिलाहरूको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भइरहेको पनि बताए।

मन्त्री गुरुङले नेपाली महिलाहरूले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरूलाई ‘उद्यमशीलता र उत्पादन’मा जोड्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि स्मरण गराए।

उनले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेतृहरूलाई आग्रह पनि गरे। 

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरूका लागि आत्मनिर्भर हुने गरी आय आर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरेका थिए।

त्यसैगरी, गैर आवासीय नेपाली संघ, युकेकी अध्यक्ष पुनम गुरुङसहित गैर–आवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरूले कोरोना भाइरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरूलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024