ललितपुरदेखि पैदलै सप्‍तरी

6 April, 2020

मकर श्रेष्ठ, लीला श्रेष्ठ 

काठमाडौँ — लकडाउन छिटै खुल्ला भन्ने आस थियो । १२ दिनसम्म छाप्रोमै कोचिँदा पनि छाँटकाट देखिएन । ललितपुरको ठैबस्थित एउटै छाप्रोमा बस्ने सात जनाको समूह शनिबार नै सप्तरीको कन्चनरूप नगरपालिका गइसकेका थिए । टेकराम चौधरी र उनका अरू पाँच जना साथी भने मंगलबारबाट लकडाउन खुल्न सक्ने भन्दै यतै बसिरहे । तर, मन्त्रिपरिषद्को शनिबारको निर्णयले उनीहरू आत्तिए ।

सरकारले आइतबारदेखि एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश र स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न नदिने निर्णय गरेको थियो। यो खबर सुनेर गाउँबाट परिवारले रुँदै घर आउन फोन गरेपछि यी ६ जनाको समूह पनि आइतबार बिहान ५ बजे ललितपुरको ठैबबाट हिँडेरै सप्तरी जाने यात्रामा निस्कियो। सबैले पिठ्युँमा भिर्ने झोला बोकेका र हातमा अर्को झोला झुन्ड्याएका छन्। बिहान साढे ७ बजे उनीहरूको समूह सूर्यविनायकमा भेटिँदा साढे दुई घण्टामा २४ किलोमिटर यात्रा छोट्याइसकेका थिए। ३ सय ५ किलोमिटर टाढाको यात्राका लागि निस्केका चौधरीको समूहका तीन जना फित्तावाल चप्पल पड्काउँदै अरनिको राजमार्ग हुँदै धुलिखेलतर्फ गइरहेका थिए। सबैले मास्क लगाएका र झोलामा खाजा बोकेका छन्। बाटोमा पसल खुलेको नभेटिए आफैंले बोकेका चिउरा र चाउचाउ खाएर पनि घर पुग्ने उनीहरूको अठोट छ।

घर बनाउने ज्यामी काम गर्ने उनीहरूलाई लकडाउनले बेरोजगार बनाएको हो। एकातिर कोरोनाको डर, अर्कातिर रोजगारी नहुँदा डेरामा हातमुख जार्ने खर्च सकिएको थियो। ‘यहाँ पैसा नभएकाले खाना खानै नपाउने भयो,’ चौधरीले भने, ‘१२ दिन त अस्ति कमाएको पैसा थियो। अब त खर्च नभएपछि कम्पनीसँग घर जाने खर्च मागेर हिँड्यौ।’ रेडियो र टीभीबाट कोरोनाको बिरामी भेटिएका समाचार बज्नेबित्तिकै घरबाट आफन्तले आत्तिँदै फोन गर्ने गरेको सुमन सदाले बताए। ‘काठमाडौंमा भोकै नबस्नु घर आउनु भनेर रुँदै फोन गर्ने गर्छन्,’ उनले भने, ‘यता बस्यौं भने त काम नभएपछि कमाइ हुँदैन। भोकै मर्नुभन्दा परिवारसँगै बस्ने भनेर हिँड्यौं।’ यता बस्दा परिवारलाई आफ्ना चिन्ता र आफूलाई परिवारको चिन्ताले सताउने गरेकाले घर जान लागेको उनले बताए। 

उनीहरू गाउँबाट काठमाडौं कामको खोजीमा आएको दुई महिनामात्रै भयो। सीई कन्स्ट्रक्सन कम्पनीमा दैनिक सात सय रुपैयाँ ज्यालामा काम गर्ने उनीहरूले बेखर्ची भएपछि गाउँ जाने अन्तिम विकल्प रोजेका हुन्। घर जान कम्पनीले १५ सयदेखि २ हजार सहयोग गरेको चौधरीले बताए। उनीहरू यही पैसाले बाटो खर्च धान्ने गरी घर हिँडेका हुन्। उनीहरू साँगा भन्ज्याङ कटेपछि तरकारी र खाद्यान्न ढुवानी गर्ने गाडीमा चढ्ने योजनामा थिए। दुई दिनमा घर पुग्न सकिएला कि भन्ने उनीहरूले सोचेका छन्। 

सरकारले आफूजस्तै मजदुरलाई राहत दिने उनीहरूले पनि सुनेका छन्। तर राहत पाउनेमा उनीहरू ढुक्क थिएनन्। किनकि राहतका लागि फारम भरेकालाई पनि केही नदिएको उनीहरूले देखेका छन्। ‘टहरामा बस्ने हाम्रो नाम राहत दिने सूचीमा कसले चढाइदिनु र पाउनु?,’ सप्तरी जान लागेका सरोज यादवले भने, ‘राहतको फारम भर्नेले त पाएको छैन। हामीले त कहिले पाउने? राहत कुरेर बस्दा त मरिन्छ होला।’ उनीहरू घर बनाउनेले सामान र कामदार राख्न बनाइदिएको छाप्रोमा बस्थे। 

सुमन सुदाले भने झोलासँगै हातमा रंगको २० लिटरको खाली बाल्टी पनि बोकेका छन्। चर्को घाममा परेको हिँडाइमा उनी बाल्टी कहिले काँधमा त कहिले हातमा झुन्ड्याएर बोकिरहेका थिए। 

लकडाउनपछि गाडी नचल्दा उनीहरूजस्तै बिहान र बेलुका हिँडेरै घर जानेको ताँती नै लाग्ने गरेको महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीमा सडकमा खटिएका एक प्रहरीले बताए। चौधरीको समूहलाई छाडेर अलि बढ्नेबित्तिकै भेटिए ३ वर्षीया छोरीलाई बोकेर श्रीमतीसँगै काभ्रेको पाँचखाल गइरहेका सन्देश तामाङ। लकडाउनले काम गर्न नपाएर खर्च सकिएपछि गाउँ जान लागेको उनले बताए। छोरीलाई घरि हिँडाउँथे, घरि काँध र पिठ्युँमा दुई जनाले पालैपालो बोक्थे। उनीहरू भक्तपुरको बालकोटबाट हिँडेर ८ बजे नलिन्चोक पुगेका थिए। उनीभन्दा अलि अघि पलासे पुगेर थकाई मारेर बसेका थिए उदयपुर जान लागेका रमेश खतिवडा र उनका दुई साथी।

चाबहिलबाट ५ बजे हिँडेका उनीहरूले साँगा नजिकैको पलासेसम्मको २० किलोमिटर यात्रा तय गरिसकेका थिए। अबको २ सय ६८ किलोमिटर यात्रा तीन दिनमा तय गरिसक्ने खतिवडाले बताए। उनका दुई जना साथी पनि फित्तावाल चप्पल लगाएरै उदयपुर जान लागेका भेटिए। उनीहरूजस्तै चप्पल लगाएर गाउँ फर्कनेको लर्को नै छ। जगातीभन्दा अलि अघि भातेढिकुरमा तीन जना युवा अघि र एक वृद्धा पछिपछि लागेर सिन्धुली गइरहेका थिए। उनीहरू सबैले फित्तावाल चप्पल नै लगाएका थिए। ‘काठमाडौंमा बस्न खर्च नभएकाले गाउँ हिँडेको हो,’ विजय तामाङले भने, ‘काम गर्न बाहिर निस्कन पाइँदैन, आफूसँग भएको पैसा पनि सकियो।’ यसरी गाउँ जानेमा छोराछारीसहित परिवारै फर्किने बढी छन्। 

दिउँसो मात्रै होइन राति शीतल हुनै भन्दै हिँड्ने पनि उत्तिकै हुन्छन्। लकडाउनमा दिउँसो हिँड्दा प्रहरीले रोकछेक गर्लान् भन्ठान्ने पनि धेरै छन्। जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जगाती नाका हुँदै लकडाउनपछि हिँडेर जानेको लर्को नरोकिएको बताए। ‘लकडाउनको केही दिन बसमा पास बनाएर जानेहरू पनि थिए,’ उनले भने, ‘अहिले त पास दिन कडाइ गरेपछि हिँडेरै गइरहेका छन्।’ ५/६ जनाको थुप्रै समूहमा हिँडेरै गइरहेको भेटिनु सामान्य रहेको उनले बताए। 

जगाती नाका जस्तै बल्खु र थानकोट नाकाबाट पनि सर्वसाधारण हिँडेरै आफ्ना घर फर्किएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताए। उनका अनुसार लकडाउनपछि बाँके, बर्दिया, दाङ र २ नम्बर प्रदेशबाट काठमाडौं उपत्यकामा आएर मजदुरी गर्नेहरू हिँडेरै घर फर्किएको भेटिएका छन्। यी नाकामा अलपत्र परेका केहीलाई प्रहरीले तरकारी, दूध र खाद्यान्न बोक्ने गाडीमा हालेरसमेत पठाउने गरेको छ। लकडाउनपछि एक लाख जति हिँडेर गएको डीएसपी कुँवरको अनुमान छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024