लकडाउनको एक महिना बित्यो, जनकपुरधाममा ज्यालादरी मजदूरले पाएनन् राहत

22 April, 2020

कोरोना महामारीको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन जारी गरेको एक महिना बितिसक्दा समेत जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म दैनिक ज्यालादरी गर्नेहरूका लागि राहत व्यवस्था गर्न सकेको छैन। 

एक महिना बिते पनि उपमहानगरपालिकाले राहत वितरणमा चासो नदेखाएपछि मेयर लालकिशोर साहविरूद्ध १७ वडाध्यक्ष गोलबद्ध भएका छन्। 

जनकपुरधाम उपमहानगरले पीडित नगरवासीका लागि राहतसम्मको व्यवस्था गर्न नसक्नु लज्जास्पद भएको भन्दै वडाध्यक्षहरू नगर प्रमुखविरूद्ध गोलबद्ध भएका हुन्। 

बुधबार जनकपुरधाममा असन्तुष्ट वडाध्यक्षहरूको भेलाले नगर प्रमुख लालकिशोर साहको स्वार्थपूर्ण नियत र भ्रष्टाचारयुक्त क्रियाकलापबाट नगरवासी पीडित रहेको आरोप लगाउँदै तत्काल पारदर्शी रूपमा संघीय सरकारले राहत वितरणका लागि अपनाएको मापदण्ड अनुसार वितरण गर्न माग गरेको हो।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगर प्रमुख लालकिशोर साहले खाद्यान्न सामग्री खरिदमा कमिसनको कुरो नमिलेकै कारण अहिलेसम्म राहत वितरण गर्न नसकेको आरोप लगाए।

‘प्रमुख साहकै रवैयाका कारण नगरवासी झन् पीडित बन्न पुगेको छन्’, उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024