रोजगारी प्रलोभन देखाएर ट्राभल एजेन्सीले ११२ जनासँग ठग्यो एक करोड ६४ लाख

6 May, 2022

युरोपियन मुलुक माल्टामा आकर्षक रोजगारीको प्रलोभन देखाएर एउटा ट्राभल एजेन्सीले विभिन्न एक सय १२ जना व्यक्तिहरूसँग एक करोड ६४ लाख आठ हजार रूपैयाँ ठगी गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार व्यापारमूलक पर्यटन व्यवसाय र ट्राभल एजेन्सी तथा टुर्स सम्बन्धी उद्देश्यले दर्ता भएको इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि नामक संस्थाले ठगी गरेको खुलेको हो।

यसअघि उक्त ट्राभल एजेन्सीका सञ्चालक राधा सुवेदीसहितका अभियुक्तले माल्टामा आकर्षक सेवासुविधा र तलब पाउने आश्वासन दिएर प्रतिव्यक्ति दुई लाख ३५ हजार रूपैयाँसम्म लिएर झुक्याएको भनी विभागमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा विभागबाट अनुसन्धानका लागि टोली खटाइएको थियो। टोलीले अनुसन्धान गर्दा उक्त एजेन्सीले विभिन्न व्यक्तिहरूबाट एक करोड ६४ लाख आठ हजार रूपैयाँ ठगी गरेको पुष्टि भएको विभागले बताएको छ।

एजेन्सीले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ विपरित कसुर गरेको पाइएको विभागले बताएको छ।

विभागले एजेन्सी सञ्चालकसहित ८ जना प्रतिवादीहरूलाई एक करोड ६४ लाख आठ हजार रूपैयाँ बिगो र सोको ८२ लाख चार हजार हर्जनासहित जम्मा बिगो दुई करोड ४६ लाख १२ हजारसहित ऐनको दफा ४३ बमोजिममको सजाय मागदाबी लिई वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024