रोजगारी ठगीमा १३ विरुद्ध मुद्दा

8 May, 2022

तुलसी सुवेदी

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा ठग्ने १३ जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ।

ठगी गर्ने जेनियस एजुकेसन एन्ड कन्सल्टेन्सीका सञ्चालक सुजन भट्टराई, होटल व्यावसायी मेगबहादुर गुरुङ र सुनील मैनालीविरुद्ध मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए। यसैगरी इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीसहित ८ जना र अन्य २ विरुद्ध मुद्दा दायर गरिएको हो। आकर्षक तलबसहित पोर्चुगल, स्पेन, फ्रान्सलगायत देशमा रोजगारीमा पठाइदिने लगाइदिने भनी उनीहरूले प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपैयाँसम्म ठगी गरेको विभागका निर्देशक भुसालको भनाइ छ। २२ जनालाई २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ ठगेको मुद्दा न्यायाधिकरणमा परेको छ। विदेशका विभिन्न युनिभर्सिटीमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्य राखी कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको उक्त प्रालिले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० को प्रावधानविपरीत ठगी गरेको अनुसन्धानका क्रममा पुष्टि भएको विभागले जनाएको छ।

विभागले चैत २८ गते सञ्चालक सुजन भट्टराईलाई पक्राउ गरेको थियो। सुवेदीसहित ८ जनाले माल्टा पठाउने भन्दै १ सय २२ जना व्यक्तिबाट १ करोड ६४ लाख ठगेको आरोप छ। उनीहरूविरुद्ध ८३ लाख हर्जनासहित २ करोड ४६ लाख बिगोसहित मुद्दा दायर गरेको भुसालले बताए। प्रतिव्यक्ति २ लाख ३५ हजारसम्म असुलेको अनुसन्धानका क्रममा खुलेको छ। कुमार गुरुङलाई क्यानडा पठाइदिने भन्दै ४१ लाख ४२ हजार रुपैयाँ ठग्ने सदीक्षा गुरुङ र उनकी आमा खिनसोभाविरुद्ध पनि मुद्दा परेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024